काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सपथ लिनुपर्ने बताएका छन् । 

आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले सपथ ग्रहणमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिद्वारा वाचन भएको ‘सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु’ भन्ने वाक्यांशमा ‘प्रतिज्ञा गर्दछु’ नभनी ‘त्यो पर्दैन’ भनेर सपथग्रहण गरेकाले पुनः सपथ ग्रहण गर्नुपर्ने माग गरेका हुन् । यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा एवं गरिमामा गम्भीर आँच पुगेको यादवको भनाई छ । 

बैशाख ३१ गते प्रधानमन्त्री ओलीले सपथ ग्रहण गर्ने क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेका थिएनन्। ‘...मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भन्नुपर्नेमा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द नै उच्चारण गरेनन् । 

राष्ट्रपतिले दोस्रो पटक भन्दा सो शब्द उच्चारण गरे पनि ओलीले उच्चारण गरेनन् । बरु, उनले ‘त्यो पर्दैन’ भनेर राष्ट्रपतिलाई सिकाउन खोजेका थिए । प्रधानमन्त्रीको त्यस्तो प्रतिक्रिया पछि राष्ट्रपतिले केही असहज महसुस गरेकी थिइन् ।