काठमाडौं - कोरोना भाइरसको आशंकामा नेपालमा कुल २ हजार ३ सय ६६ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौं उपत्यका र बाहिर गरी कुल २ हजार ३ सय ६६ जनामा परीक्षण गरिएको जानकारी दिएका हुन् ।

जसमा काठमाडौं उपत्यकामा आजसम्म १९६५ को कोरोना भाइरसको परीक्षण भएको छ भने काठमाडौं बाहिरको ४०१ जनाको परीक्षण भएको छ । उनका अनुसार नयाँ संक्रमण देखिएका छैनन् ।

डा. देवकोटाले बुधबारसम्म देशैभरका अस्पतालका आइसोलेसनमा १३४ जना उपचाररत रहेको बताए । देशैभरका क्वारेन्टाइनमा ८ हजार ५ सय ८० जना रहेका पनि उनले जानकारी दिए । यस्तै, बुधबारबाट अछाम, जुम्ला र सुर्खेतबाट ८ सय २ वटा स्वाबको नमूना संकलन गरिएको छ । संकलन गरिएका नमूनाहरु पीसीआर टेस्टका लागि संकलन गरिएको र काठमाडौं ल्याइसकिएको उनले बताए ।