काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्ने बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्ने बताएका हुन् । ‘स्थानीय तह निर्वाचनले सरकार बनाउँदैन, प्रदेश सरकार बनाउँदैन,’ उनले भने, ‘तर, देशको आगामी दिशा तय भने गर्छ ।’

एमालेको जित सुनिश्चित भइसकेको दाबी गरेका ओलीले निर्वाचनको तयारी सकिएको र अब नतिजाको पर्खाइमा रहेको बताए । उनले एमालेले निर्वाचन आँधली नगर्ने भन्दै निर्वाचन आयोगसहित प्रहरीलाई आ–आफ्नो कर्तव्य पूरा गर्न आग्रह समेत गरेका छन।

अरु पार्टीले धाँधली गर्न सक्ने आशंका गर्दै ओलीले मतदान सकिएपछि मतपत्रलाई आँखाबाट ओझेल पर्न नदिन कार्यकर्तालाई निर्देशन दिए ।आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भइरहेको भन्दै उनले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनेमा सत्तारुढ गठबन्धनसहित सरकारी संयन्त्रमाथि आशंका उब्जाए ।