काठमाडौं - शंकास्पद वस्तु राखिएको हल्लापछि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सुचारु भएकाे छ । 

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरका अनुसार  खोजतलासको कतै पनि बम फेला  परेन । त्रासपूर्ण वातावरण नभएको पनि उनले बताए । ‘केही छैन । तै पनि अपरेसन हुँदै छ । भित्र केही देखिएन । कसले र कसरी फोन गरेर बम छ भन्यो ? अनुसन्धान भइरहेको छ’ एसएसपी कुँवरले जनतापाटीसँग भने । 

बिहान १० बजेतिर विमानस्थलको एउटा ल्यान्डलाइन फोनमा फोन गरेर अपरिचति मानिसले आफू मुस्लिम समुदायको मान्छे भन्दै विमानस्थल परिसरमा बम राखेको र डिस्पोज गर्न चुनौती दिएको प्रहरीले जनाएको छ । 

त्यसपछि विमानमा चढ्ने क्रममा रहेका यात्रुहरूलाई ओरालेर बाहिर निकालिएको थियो । विमानस्थलमा तालिमप्राप्त कुकुरसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए । सेनाको बम डिस्पोजल टोली पनि विमानस्थलमा पुगिसकेको थियाे । तर, केही पनि शंकास्पद बस्तु फेला नपरेपछि करिब डेढ घन्टापछि विमान उडान सुरु भएको छ ।