गंगामायाले न्यायका लागि गुहारिन् राष्ट्र संघ
काठमाडौं - छोरा कृष्ण प्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग राख्दै न्यायको पर्खाइमा रहेकी गंगामाया अधिकारीले राष्ट्र संघलाई गुहारेकी छन्। उनले नेपालस्थित राष्ट्रसंघको कार्यालय पुगेर मंगलवार न्यायका लागि गुहारेकी हुन्।
मानव अधिकारकर्मीसहित पुल्चोकस्थित राष्ट्रसंघको कार्यालय पुगेकी गंगामायाले नेपालका लागि राष्ट्र संघको आवासीय समन्वयक भ्यालेरी जुलियन्डलाई भेटेर न्यायका लागि पहल गरिदिन आग्रह गरिन्।
मानव अधिकारकर्मीहरुले उनलाई एकाविहानै सुटुक्क युएनको कार्यालय लगेका हुन्। वीर अस्पतालबाट सवा ८ बजेतिर गंगामायालाई लिएर मानव अधिकारकर्मीहरु पुच्चोक पुगे। त्यहाँ एक घण्टा भेटघाट गरेका उनीहरु १० नबज्दै त्यहाँ बाट निस्किए। पुल्चोकबाट फर्किँएपछि मानव अधिकारकर्मी चरण प्रसाँई हाम्राकुराको सम्पर्कमा आए।
उनले गंगामायाको आग्रहमा युएनको नेपालस्थित कार्यालय गएको बताए। उनले भने, ‘उहाँले (गंगामाया) भ्यालेरीलाई भेटेर नेपालबाट न्याय पाउने कुनै संकेत देखिएन। तपाईँहरुको मद्दत चाहियो भन्नु भयो।’
प्रसाईँका अनुसार यो, गंगामायाको मौखिक आग्रह थियो। तर, गंगामायामाथि अहिलेसम्म घटेका घटनाको सिंगो फाइल भने राष्ट्र संघको आवासीय समन्वयकलाई बुझाइएको छ।
जुलियन्डको जवाफ
गंगामायाको आग्रहपछि जुलियण्डले न्यायका लागि गरेको संघर्षको प्रसंशा गरिन्। उनले भनिन्, ‘आमरण अनसन बस्ने कुरा नगर्नुस्, त्यसले आफैँलाई हानी गर्छ। न्यायका लागि राष्ट्र संघका पनि विभिन्न निकायहरु छन्। त्यसमा हामी भरपुर सहयोग गर्छौ।’ गंगामाया अधिकारीले खास राष्ट्रसंघको कार्यालय अगाडि नै धर्ना बस्ने घोषणा गरेकी थिईन्। तर, राष्ट्र संघबाट भरपुर सहयोगको आश्वासन पाएपछि उनी फेरि वीर अस्पतालको क्याबिन ७ मै फर्किएकी छन्।
फेसबुक पेज Like गर्नुहोस