काठमाडौं - प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधिमा निर्वाचनलाई प्रभावित पार्नेगरी सार्वजनिक अपिलमार्फत मत मागेको र सो कार्यले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलले उजुरी दिएको हो ।

मतदान हुनुपूर्व ४८ घण्टाको मौन अवधिमा निर्वाचन प्रचार प्रसार, सामाजिक सञ्जाल वा कुनै पनि विद्युतीय माध्यमबाट समेत मत माग्न निषेध गरेको भए पनि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली तथा एमालेका अर्का नेता तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक अपिलमार्फत आफ्ना उम्मेदवारको पक्षमा मत मागेर आचारसहिताको ठाडो उल्लंघन गरेको कांग्रेसको ठहर छ।

संसदीय दलको कार्यालयका अधिकृत विजयेन्द्र वीर आलेद्वारा बिहीवार निर्वाचन आयोगमा पठाएको उजुरीमा आचार संहिता विपरीत सरकार प्रमुखले नै अमुक उम्मेदवारलाई नै विजय गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्त विपरित भएको उल्लेख छ।

कांग्रेस संसदीय दलको बुधवारको बैठकलेसमेत प्रधानमन्त्रीको आचारसंहिता विपरीतको अपिलको भत्सर्ना गरिरहेको जानकारी गराउँदै प्रमुख निर्वाचन आयुक्तलाई पठाइएको उजुरीमा निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने प्रधानमन्त्रीसहित सबैलाई कारवाहीको लागि अनुरोध गरिएको छ।