दोलखाको बिगुमा जिप दुर्घटनाः ४ जनाको मृत्यु, १७ घाइते
काठमाडौं - दोलखाको बिगु गाउँपालिका–४ मा टाटाको योद्धा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गरेका यात्रु बाेकेकाे वाग्मती प्रदेश ०१०२३ च७५८० नम्बरको जिप सोमबार राति सिँगटीनजिकैको चारगोलाईमा सडकमा दुर्घटना भएको हो । जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको छ ।
दोलखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) भेषराज रिजालका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेमा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीय अजिता खत्री, ५२ वर्षीय राधा खत्री र २४ वर्षीय चन्दिका खड्का रहेका छन् ।
दुर्घटनामा १७ जना घाइते भएका छन् । उनीहरूको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । केही गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस