काठमाडौं - चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोडिभ–१९)को प्रकोप संसारभर फैलिएसँगै सरकारले सगरमाथा सम्वाद कार्यक्रम स्थगित गरेको छ ।
जलवायु परिवर्तनबारे विश्वलाई सन्देश दिनेगरी आउने २० चैतदेखि तीन दिन सगरमाथा सम्वाद गर्ने तयारी सरकारले गरेको थियो । थुप्रै देशलाई निमन्त्रणा समेत दिइसकिएको छ । तर, कोरोना भाइरसको प्रकोपका कारण यो कार्यक्रम स्थगित गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।
सगरमाथा सम्वाद कार्यक्रम स्थगित भएको जानकारी दिन सोमबार पत्रकार सम्मेलन गरिदैछ । सरकारले नेपाल भ्रमण वर्ष–२०२० का कार्यक्रम पनि स्थगित गर्ने तयारी गरेको छ । उद्यपि, औपचारिक घोषणा हुन बाँकी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष २०२०को कार्यक्रम सार्ने गरी कार्ययोजना बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्। भ्रमण वर्ष र सगरमाथा संवादको विषय टुंग्याउन उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा समिति बनाइएको छ।
२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरिएको भ्रमण वर्ष कोरोना प्रकोपका कारण प्रभावित बनेको छ । छिमेकी चीन लगायत यूरो र मध्य पूर्वसम्म कोरोना फैलिएको छ । शनिवार नै विदेशमा भ्रमण वर्षको प्रवद्र्धनात्मक कार्यक्रमहरु स्थगित गर्ने निर्णय भइसकेको छ । अतिप्रभावित मुलुकहरुको उडान समेत रोक्ने सरकारले तयारी गरेको छ ।
सरकारले जापान, दक्षिण कोरिया, हङकङ र इरानबाट आउने उडान रोक्ने तयारी गरेको हो ।यस्तै, नेपालले दिँदै आएको अनअराइभल भिसा पनि तत्कालका लागि बन्द गर्न निर्देशन दिइएको छ।
कोरोनाका कारण सगरमाथा संवाद स्थगित, भ्रमण वर्षका कार्यक्रम पनि रोक्ने तयारी
खबर एक्सप्रेस
फाल्गुन १९, २०७६
५५४


.gif)

