काठमाडौं - २०६४ यताका तीनवटा निर्वाचनको तुलनामा यसपटकको उपनिर्वाचनमा बदर मतको प्रतिशत आधाभन्दा बढी घटेको छ ।

विगतका तीनवटा चुनावमा करिब ५ प्रतिशत मत बदर भएको थियो । अहिलेको उपनिर्वाचनमा भने बदर मत २ प्रतिशतभित्र सीमित भएको छ । चुनाव विश्लेषकहरूका अनुसार मत बदर प्रतिशत घट्नु चुनावी गुणस्तरीयता बढेको प्रमाण हो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले बदर मत प्रतिशत २ प्रतिशत भित्र झर्नु अत्यन्त राम्रो भएको बताए । ‘यसले मतदाताको जागरुकता बढेको सन्देश दिएको छ, मतपत्र सानो र छरितो हुनुले मतदातालाई कति सहज बनाउँछ, त्यो पनि देखाएको छ,’ उनले भने ‘अब आगामी निर्वाचनमा पनि यस्तै होस् भन्ने आयोगको प्रयत्न सधैं रहनुपर्छ ।’

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ १.६१ र स्थानीय तहतर्फ १.७० प्रतिशत मत बदर भएका छन् । यसपटक मतपत्र छरितो र मतदातामैत्री भएकाले पनि बदर मतको संख्या घटेको हो ।

२०७४ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५.१८ र प्रदेशसभामा ४.२६ प्रतिशत मत बदर भएका थिए । समानुपातिकतर्फ प्रतिनिधिसभामा ९।५३ र प्रदेशसभामा १४।४७ प्रतिशत मत बदर भएका थिए । स्थानीय तह निर्वाचनमा १० प्रतिशत हाराहारीमा मत बदर भएको थियो । 

 कान्तिपुर दैनिकबाट