काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारसँग जोडिएका संस्थाहरुमा अनुसन्धान र विकासका कामहरु कमजोर रहेको बताएका छन् ।

नेपाल टेलिभिजनको ३५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजनमा पनि अनुसन्धान गरेर कार्यक्रमहरु उत्पादन गर्नुपर्ने बताएका हुन् । उनले सरकारसँग जोडिएका सबै संस्थामा अनुसन्धान र विकास सम्बन्धमा कमजोर रहेको उल्लेख गर्दै नेपाल टेलिभिजनमा पनि यसको अवस्था कमजोर रहेको बताए ।

उनले टेलिभिजन स्थापना भएको हिसाबले पहिलो टेलिभिजन भएपनि कार्यक्रम उत्पादन र जनताको रोजाईमा पहिलो हुनुपर्ने चुनौति रहेको बताए । त्यसका लागि दक्ष जनशक्ति अर्थात अनुसन्धन गर्न सक्ने जनशक्ति आवश्यक रहेको उनले बताए ।

उनले भने, ‘एउटा सिंगो देशभित्र सिंगो देशका विभिन्न भौगोलिक विशेषता भित्र त्यस भित्रका विभिन्न सामाजिक संस्कृतिहरुभित्र आर्थिक क्षमताहरुभित्र मान्छेका रुचिहरुभित्र र मान्छेहरुमध्ये पनि उमेर समूहका रुचिहरुलाई पनि अब हामीले कुन बेला के उपयुक्त हुन सक्दछ र कस्तो कार्यक्रम कसले कति रुचाउँछ भन्ने हिसाबले कार्यक्रमहरुको उत्पादन हुनुपर्छ । त्यो भन्दा अगाडि अर्को एउटा उचनौति थप छ त्यो थप चुनौति के हो भने यसको निम्ति पनि रिसर्च हुनुपर्छ । मनोवैज्ञानिक हिसाबाले पनि अरु विभिन्न हिसाबले पनि अव हाम्रो मानव संशाधनको तर्फ अधिकांश सरकारले सहयोग गरेका सरकार जोडिएका अधिकांश यस्ता संस्थाहरुमा यो आर एण्ड डी भन्ने चाहिं एकदमै कमजोर छ । अव हाम्रो मुख्य फोकस त्यता हुनु पर्दछ । मैले आज यो कुरा टेलिभिजनमा भने र यहाँ अन्त पनि भन्नु छ । यो मेरो वर्षभरिको मुद्दा हुने छ । पटक पटक दोहो-याई रह्यो भनेर यस्तो संस्थाको नेतृत्व गर्ने साथिहरुले नभन्नुहोला ।’

उनले नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र, राष्ट्रिय समाचार समिति लगायतका संस्थाहरु सरकारी संस्था नभई जनता र राज्यको सम्पत्ति भएको बताए ।

उनले विश्व समुदायमा नेपाल सम्बन्धी जानकारी लिन अन्य समाचार च्यानलहरुलाई माध्यम बनाएको पाइएको भन्दै त्यसको अन्त्य गर्न अंग्रेजी माध्यमको विश्व समाचार च्यानल ‘एनटिभि वल्र्ड’ यसै आर्थिक वर्ष भित्रमा नितिगत र व्यवस्थापकीय रुपमा सञ्चालनमा ल्याउने समेत बताए ।