काठमाडौं - काठमाडौं महानगरपालिकाको फोहोर बोकेको गाडीलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बीच बाटोमै रोकिदिएका छन् ।

काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई उनीहरुले बीच बाटोमै रोकेका हुन् । 

आइतबार सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि उनीहरुलाई साथ दिएको स्थानीयले जनाएका छन् । 

हिजो धादिङको धुनिबेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त वक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए । यसैबीच, आज दिउँसो सबै दलले संयुक्त वक्तव्य निकाल्ने तयारी भइरहेको बताइएको छ ।