काठमाडौं - नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्था एवं अस्पतालमा आकस्मिक र कोभिड-१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने घोषणा गरेको छ ।

सत्याग्रही डा. गोविन्द केसीको अनशन २७ दिन पुग्दासम्म पनि सरकारले केवल औपचारिकताका लागि मात्र वार्ता गरेको निष्कर्ष निकाल्दै संघले यस्तो घोषणा गरेको हो ।

आइतबारसम्म सत्याग्रह अन्त्य नभए थप कडा आन्दोलन गर्ने संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

डा. केसीले ६बुँदे माग राखेर २९ भदौमा अनसन थालेका थिए । अनसनको २४औं दिन सरकारले वार्ता टोली बनाएपछि बिहीबार र शुक्रबार वार्ता पनि भएको थियो ।

शुक्रबार राति स्थगित भएको सरकार र केसी पक्षको वार्ता त्यसपछि सुरु हुन सकेको छैन । शनिबार सरकारी वार्ता टोलीले केसीलाई अनशन तोड्न आग्रह गरेको छ ।