काठमाडौं - म्यागसेसे पुरस्कार विजेता महावीर पुनले कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोसाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पीपीई) निःशुल्क उपलब्ध गराउने भएका छन् । बिहीबारदेखि पीपीई बनाउन थालेका पुनले सरकार र अस्पताललाई आफूले निःशुल्क रुपमा उक्त सामग्री वितरण गर्ने बताए ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालालाई बिहीबार नमुना देखाएपछि साँझैबाट उत्पादन सुरु गरिएको उनले बताए । “एउटा पीपीई बनाउनका लागि एक हजार पर्छ,” उनले भने, “एक हजार उठाउँदै जान सम्भव हुँदैन । त्यसैले उक्त सामग्री निःशुल्क दिनेछु ।”

चप्पल कारखाना र पेप्सीकोला दुई ठाउँमा ६ मजदुरले अहिले पीपीई उत्पादन गरिरहेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका पुनका अनुसार एकजना मजदुरले दिनमा आठवटा पीपीई बनाउँछन् ।