काठमाडौं - भारतले बास्मती धानको भौगोलिक संकेत हकअधिकार स्थापित गर्नका लागि यूरोपियन यूनियन (ईयु)मा निवेदन गरेपछि नेपालले आपत्ति जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक विज्ञप्ती जारी गरेर बास्मती धान परापुर्वकालदेखि नेपालमा उत्पादन हुने र विदेशमा समेत निर्यात हुने भएकाले उक्त जातको धानमा नेपालको समेत हक स्थापित हुनुपर्ने भएकाले भारतको दाबीमा विरोध गर्ने निर्णय भएकाे जानकारी दिएको हो ।

‘भारतले बास्मती धानको भौगोलिक संकेतका लागि युरोपिएन युनियन (ईयु)मा निवेदन दिएको सन्दर्भमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिवहरु र सरोकारवाला निकायका पदाधिकारीहरुको बैठकले बास्मती धान परापूर्वकालदेखि नेपालको विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने र विदेशमा समेत निर्यात हुने भएकाले उक्त बास्मतीमा नेपालकोसमेत हक स्थापित हुनु पर्ने ।’ विज्ञप्तीमा उल्लेख छ ।

उक्त प्रयोजनका लागि नेपाल कृषि अनुसन्धान परिषदअन्तर्गत राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र खुमलटारमार्फत तोकिएको म्यादभित्र नेपालको तर्फबाट आधिकारीक दाबी विरोध गर्ने पनि निर्णय भएको छ । अबको पाँच दिनभित्र नेपालले ईयुमा निवेदन दिई सक्नुपर्नेछ ।