धनगढी-कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालत कैलालीले १३ जनालाई जन्मकैदको सजाय सुनाएको छ।

जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले मुख्य अभियुक्त नवीन रावलसहित ६ जनालाई जिवित रहेसम्म (आजीवन) जन्मकैदको फैसला सुनाएको हो।

अदालतका सूचना अधिकारी पंकज उपाध्यायका अनुसार नवीन रावलसहित आर्यान देवकोटा, रोशनबहादुर शाही, अनुज भन्ने चिरञ्जिवी जंग शाही, रोहित आले र हिमाल शाहीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम जिवित रहेसम्म जन्मकैदको सजाय ठहर गरिएको छ।

त्यसैगरी प्रतिवादी मदन शाही, हेमन्त शाही, धिरज भन्ने दिपेन्द्र शाही, गोलु भन्ने निशान्त मल्ल र शोहन शाहलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(१) बमोजिम जन्मकैदको सजाय सुनाइएको अदालतले जनाएको छ।

साथै, लोकेन्द्र कुवँर र सविनजंग शाहीलाई पनि अभियोग दाबीअनुसार जन्मकैदको सजाय हुने ठहर गरिएको छ।

अदालतले अशोक रावल, महेश रावल, जयन्द्र शाह, विकास खड्का, प्रविन रिमाल, विकास सेरचन थकाली र कपिल श्रेष्ठ गरी ७ जनालाई भने अभियोग दाबीबाट पूर्ण रूपमा सफाइ दिएको छ।

यसै मुद्दामा सुरूदेखि फरार रहेका प्रतिवादी लोकजंग शाहीको हकमा भने मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९८ बमोजिम मुद्दा मुल्तबीमा राख्ने आदेश जारी गरिएको छ।

अदालतले कसुर ठहर भई सजाय तोकिएका १३ जना प्रतिवादीहरूले संयुक्त रूपमा पीडितलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दामासाहीका आधारमा उपलब्ध गराउनुपर्ने आदेश पनि दिएको छ।

साथै, कानुन बमोजिम जनही दुई हजार आठ सय रुपैयाँका दरले पीडित राहत कोषमा रकम दाखिला गर्नुपर्ने ठहर गरिएको छ।

भूपेन्द्र बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो।

घटनापछि २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालय कैलालीले नवीन रावलसहित २१ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा जिल्ला अदालतमा दायर गरेको थियो।