चितवन - रसुवाको भोटेकोसी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव समाधिस्थ गरिने भएको छ।
शवहरूमध्ये ४ वटाको मात्र पहिचान भएको र बाँकी शवहरू तीव्र रूपमा सड्न थालेकाले जिल्लामा महामारी फैलिने उच्च जोखिमलाई ध्यानमा राख्दै यस्तो बाध्यकारी निर्णय लिइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटीय क्षेत्रबाट सङ्कलित शव एवम् शवका अवशेषहरू कुहिन थालेपछि सङ्क्रमण र महामारी फैलिन सक्ने स्वास्थ्य विज्ञहरूको चेतावनीका आधारमा सुरक्षित रूपमा व्यवस्थापन गर्न लागिएको प्रशासनले जनाएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले पहिचान नभएका तथा वेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम शव व्यवस्थापन गर्ने निर्णय गरेको छ।
त्यस्तै भविष्यमा पहिचान गर्न सहज होस् भन्नका लागि त्यस्तै शवको डिएनए नमुना सङ्कलन गरी सङ्केत नम्बरका आधारमा विस्तृत अभिलेख सुरक्षित राखिनेछ।
सबै पहिचान नभएका शवहरूको अन्तिम संस्कार भरतपुर महानगरपालिका वडा नं. १ स्थित देवघाटको खुला स्थानमा जमिनमुनि गाडेर गरिनेछ।

.gif)


