काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि २० वटा घर निर्माण गरिदिने घोषणा गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रसाईंले विपद्को यो घडीमा प्रधानमन्त्री बालेन शाह र सरकारको आलोचना तथा आरोप–प्रत्यारोपमा समय खर्चिनुभन्दा प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापनामा जुट्नुपर्ने बताएका हुन् ।

‘अहिले प्रधानमन्त्री बालेन र सरकारको टिमलाई गाली गर्ने समय होइन, देश सबैको साझा हो। अहिलेको समय बालेन सरकारलाई सहयोग गर्ने हो,’ उनले लेखेका छन्।

बाढीपहिरोमा ज्यान गुमाएकालाई फर्काउन नसकिने भन्दै प्रसाईंले बाँचेका परिवारको जीवनयापन सहज बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।

उनले प्रभावित परिवारका लागि गास, बास र कपासको व्यवस्थापन अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै आफूहरूले २० वटा घर निर्माण गरिदिने निर्णय गरेको जानकारी दिएका छन्।

‘मर्ने त मरेर गए, दुःखै लुकाए। बाचेका परिवारलाई गास, बास, कपासको व्यवस्थापनमा सबै जुटौँ। हामीले त २० घर बनाइदिने निर्णय गर्‍यौँ, तपाईंहरू चाहिँ के गर्ने ?’ प्रसाईंले प्रश्न गरेका छन् ।