काठमाडौं - रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ६१६ पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार देशका विभिन्न जिल्लाबाट ६१६ जनाको शव फेला परेको हो ।

फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा २३३ जना रहेका छन् । प्रहरीले जिल्लागत रूपमा सार्वजनिक गरेको विवरणअनुसार नवलपरासी पूर्वमा १५८, गोरखामा ४८, नवलपरासी पश्चिममा ४७, धादिङमा ४५, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको छ।

बाढी तथा पहिरोबाट प्रभावित २ हजार ३०१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

उद्धार गरिएकामध्ये नुवाकोटबाट १ हजार ६२२, रसुवाबाट ६७६ र धादिङबाट ३ जना रहेका छन्।

प्रहरीका अनुसार बाढीपहिरोमा परी घाइते भएका तथा उपचारपछि डिस्चार्ज भएका गरी काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा १४० जना उपचाररत रहेको विवरण छ।

विपद्पछिको उद्धार, राहत तथा खोजी कार्यलाई तीव्रता दिन देशभर ४ हजार ८११ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।