काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको बैठकमा सहभागी भएका देउवा साँझ बोलाइएको बैठकमा भने नजाने भएका हुन् । बिहानको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नआएपछि बैठक साँझ ५ बजेका लागि बोलाइएकाे थियाे ।

मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी थिइन् ।

त्यसपछि सहमतिको वातावरण बिथोलेको भन्दै देउवाले आगामी बैठक बहिस्कार गरेका हुन् ।