काठमाडौं - गण्डकी प्रदेशमा नवनियुक्त ५ जनामध्ये ४ मन्त्रीले शपथ लिएका छन्। दीपक मनाङ्गे फेरि मन्त्री बनेका छन्।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले किरण गुरुङ, रामशरण बस्नेत, नरदेवी पुन, विकास लम्साल र राजीव गुरुङ (दीपक मनाङ्गे)लाई मन्त्री नियुक्त गरेका हुन्। 

नवनियुक्त ४ मन्त्री किरण गुरुङ, रामशरण बस्नेत, नरदेवी पुन र विकास लम्सालले शपथ लिएका छन्। उनीहरूलाई बुधबार अपराह्न आयोजित एक समारोहमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्। 

दीपक मनाङ्गेले भने शपथ लिन बाँकी रहेको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव मुकुन्द दाहालले बताए। “राजीव गुरुङ पनि मन्त्री नियुक्त भएको पत्र आएको छ, पोखरा बाहिर रहेकाले आज शपथ हुन सकेन,” दाहालले भने।

नवनियुक्त मन्त्रीमध्ये किरण गुरुङलाई आर्थिक मामिला तथा योजना र दीपक मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। अन्य तीन मन्त्रीलाई जिम्मेवारी तोक्न बाँकी छ। 

गुरूङ २९ वैशाखमा पुनः मुख्यमन्त्री नियुक्त भएका थिए। कोरोनाभाइरस संक्रमणका कारण मन्त्री नियुक्त गर्न सकेका थिएनन्। 

यसअघि उनले २६ वैशाखमा मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। उनीविरुद्धको अविश्वास प्रस्तावमाथि २७ वैशाखमा संसदमा मतदान हुने तय भएको थियो। तर, उनी एक दिन अघि राजीनामा दिएर अर्को दिन पुनः मुख्यमन्त्री नियुक्त भएका थिए।