काठमाडौं - नेकपा एकीकृत समाजवादीले मन्त्रीहरुको हेरफेर आजै हुने दाबी गरेको छ।  केन्द्रीय सचिवालय बैठकपछि आज प्रचार विभाग प्रमुख तथा पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले अब दिन होइन, केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुने बताएका हुन्।

उनले भने, ‘पार्टीले निर्णय गरेर प्रधानमन्त्रीलाई पठाइसकेको छ। अहिलेसम्म विविध कारणले ढिला भयो। अब दिन लाग्दैन, पार्टीको निर्णय कार्यान्वयन हुन्छ। अब केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुन्छ।’

मन्त्रीहरूले फिर्ता हुनका लागि विभिन्न शर्त राखेको भन्ने कुरा हल्लामात्रै भएको उनले दाबी गरे।

प्रवक्ता खतिवडाले पार्टीमा मन्त्री हेरफेरकै विषयलाई लिएर कसैले विद्रोह गर्ने अवस्थासमेत नरहेको दाबी गरे। 

नेकपा एसमा मन्त्री फेरबदलको विवाद चुलिँदै गएको छ। केही साताअघि नेकपा एसले मौजुदा मन्त्रिपरिषद्मा आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। तर, अहिलेसम्म नेकपा एसको निर्णय कार्यान्वयन हुन सकेको छैन।