काठमाडौं - वन्यजन्तुका चिकित्सक डा. विजयकुमार श्रेष्ठ यतिबेला चितवन निकुञ्जको देवनगर पोस्टमा हात्तीको नङ कटाउँदै हुनुहुन्छ । हात्तीको स्वास्थ्य परीक्षण पनि हुँदैछ । उहाँलाई खोरसोरका कर्मचारी बुधन चौधरी लगायतले सघाइरहनुभएको छ ।

'हात्तीमा क्षयरोग लागे–नलागेको परीक्षण गर्दै जुकाको औषधि दिँदैछौँ, श्रेष्ठले भने,'बलिया र कमजोर हात्ती छनोट पनि गर्दैैछौँ ।'यसैगरी निकुञ्जका विभिन्न पोस्टमा रहेका हात्तीको उहाँले स्वास्थ्य परीक्षण गरिरहनुभएको छ । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका हात्तीको दक्षता वृद्धिसँगै स्वास्थ्य र आहारामा विशेष ध्यान दिइँदैछ ।

यो सबै कुनै विशेष उत्सवका लागि भने हैन, आउँदो चैत महिनामा हुने गैँडा गणनाका लागि हात्ती तयार पारिन थालिएका हुन् । एकसिङ्गे गैँडा पाइने चितवन जस्तै पर्सा, बर्दिया, शुक्लाफाँटामा पनि यसैगरी तयारी हुँदैछ । हरेक चार वर्षमा हुने गैँडा गणनाअनुसार यस वर्ष गणना हुन लागेको हो । यसअघि सन् २०१५ मा गैँडा गणना भएको थियो ।

क्यामरा ट्र्यापिङ गर्नका लागि होस् वा प्रत्यक्ष जङ्गलमा विचरण गरेर नै किन नहोस्, गैँडाको वर्तमान अवस्था पत्ता लगाउन हात्ती चढेर गणकहरूले काम गर्छन् । जङ्गलका सबै क्षेत्रमा कच्चा सडक नभएकाले पनि हात्तीको प्रयोग बढी हुन्छ । सबैभन्दा धेरै गैँडा चितवनमै भएकाले विशेष तयारी चलिरहेको छ ।

त्यस्तैगरी गैँडाको अवस्थिति रहेको बर्दिया, पर्सा र शुक्लाफाँटा निकुञ्जमा पनि गैँडा गणनाको तयारी तीव्र छ । गैँडा गणना गर्ने मिति तय नभए पनि चैतमै गैँडा गणना सुरु हुने वन्यजन्तु संरक्षण तथा निकुञ्ज विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । 'गैँडा गणनाका लागि फिल्डमा के के प्रविधि र सामग्री चाहिन्छ भन्ने सूची तयार पार्ने काम चलिरहेको छु, उनले थपे, 'केही सूचीका सामग्री सम्बन्धित निकायमा माग पनि भइसक्यो ।' उनका अनुसार कुन कुन निकायसँग सहकार्य गरेर जाने र प्रविधिजन्य विषय र व्यवस्थापनमा कसरी अघि बढ्ने भन्ने बारेमा थप छलफल चलिरहेको छ ।

 गोरखापत्र दैनिकबाट