काठमाडौं - भारतीय चलचित्र उद्योगका वरिष्ठ तथा बहुप्रतिभाशाली अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।

लामो समयदेखि रक्त क्यान्सरसँग संघर्ष गरिरहेका रावतको स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पतालमा उपचारकै क्रममा निधन भएको उनका प्रबन्धक सिद्धार्थ तिवारीले पुष्टि गरेका छन् ।

उनी विगत दुई महिनादेखि अस्पतालमा भर्ना थिए । रावतको निधनसँगै बलिउडसहित भारतीय चलचित्र उद्योगले एक अनुभवी र प्रभावशाली कलाकार गुमाएको छ।

विशेषगरी आमिर खान अभिनित सुपरहिट चलचित्र लगान र गजनीमा उनले निभाएका खलनायकका भूमिकाले दर्शकमाझ अमिट छाप छोडेको थियो।

उनको निधनको खबर सार्वजनिक भएपछि फिल्म क्षेत्र शोकमा डुबेको छ। अभिनेता सोनु सूदले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै, “प्रदीप रावत भाइ, तपाईंलाई सधैं याद गरिनेछ,” लेखेका छन् । त्यस्तै अभिनेतायशपाल शर्माले पनि इन्स्टाग्राममार्फत भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

हिन्दी चलचित्रसँगै तेलुगु, तमिल, कन्नड, मलयालम, बंगाली, भोजपुरी, नेपाली र मराठी भाषाका चलचित्रमा समेत आफ्नो अभिनय कौशल प्रस्तुत गरेका रावत बहुआयामिक कलाकारका रूपमा परिचित थिए।