काठमाडौं - प्रधानसेनापति अशोकराज सिग्देल थाइल्याण्डको हुआ हिनमा आयोजना हुने रक्षा प्रमुख सम्मेलनमा भाग लिन जाने भएका छन् ।

शाही थाई सशस्त्र बलको सहकार्यमा अमेरिकी सेनाको इण्डो–प्यासिफिक कमाण्डद्वारा यही भदौ १० देखि १२ गतेसम्म हुने उक्त सम्मेलनमा भाग लिन उनी आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

विसं २०५६ देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको उक्त सम्मेलनमा नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ । सम्मेलनमा सहभागी राष्ट्रका सेना प्रमुखबीच अन्तरराष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोचलगायत समसामयिक विषयमा छलफल, अन्तरक्रिया तथा विचार आदानप्रदान हुने गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।