सर्लाही - सर्लाहीमा पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार चन्द्रपुर गाउँपालिका-१ रतनपुरस्थित घरको कोठाभित्र ८० वर्षीय रायको गएराति हत्या भएको हो ।

उनको हत्या भएको खबर गएराति १ बजे प्रहरीसमक्ष पुगेको बताइएको छ । परिवारसहित मलंगवा बस्दै आएका पूर्वराज्यमन्त्री राय आइतबार मात्रै रतनपुर आएका थिए ।

घटनास्थल पुगेको प्रहरीले उनलाई कोठाभित्र मृत अवस्थामा भेटाएको थियो । रायको टाउको धारिलो हतियार प्रहार भएको देखिएको छ भने टाउकोको बायाँ भागमा चोट रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सोमबार बिहान प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख पनि घटनास्थल पुगेका छन्। अनुसन्धानका लागि तालिमप्राप्त कुकर पनि परिचालन गरिएको प्रहरीले जनाएको छ । उनी राप्रपाका केन्द्रीय सदस्य समेत हुन् ।