काठमाडौं-ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित लुभुमा भएको दुई जनाको हत्या अनुसन्धानमा संलग्न प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।

दुई दिनको फरकमा भएको सिन्धुलीका २५ वर्षीय केशवराज हायु, पारुहाङ राईको हत्याको घटनालाई सफल अनुसन्धान गरेको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयले डिएसपीसहित सात जनालाई पुरस्कार प्रदान गरेको हो ।

पुरस्कृत हुनेहरूमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत डीएसपी वेद पौडेल, अर्का डीएसपी पञ्चलाल गोले, इन्स्पेक्टर शिव थापा, दुई जना सई, एक जना असई र एक जना हवल्दार गरी सात जना रहेका छन् ।

उनीहरूले ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा हत्या गरिएका केशवराज हायु र पारुहाङ राईको हत्यामा संलग्नहरूको पहिचान गरेर पक्राउ गरेका थिए ।

महालक्ष्मी नगरपालिकाको शेरेफाँटमा पुस २ मा केशवराज हायुको शव फार्म हाउसको इनारमा बोरामा प्याक गरेर फालेको अवस्थामा हायुको भेटिएको थियो ।

त्यसपछि पुस ४ मा ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा पर्ने सुर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा भोजपुरको अरुण गाउँपालिका–३ का पारुहाङ राई मृत भेटिएका थिए । उनीहरू दुवैले महालक्ष्मी नगरपालिकामा तरकारी खेती गर्न सँगै ‘फार्म हाउस’ चलाएका थिए ।

हत्यामा संलग्न आरोपमा प्रहरीले सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय देवराज ढुंगेल र २० वर्षीय जयराम अधिकारीलाई पक्राउ गरेको थियो ।

केशवराज हायुकी बहिनीसँग देवराज प्रेम सम्बन्धमा थिए । उनले प्रेमिकालाई ऋण खोजेर जापान पठाउन केशवराजसँग १२ लाख र पारुहाङसँग ५ लाख सापटी लिएका थिए । केशवराज फार्म हाउस बेचेर बुल्गेरिया उड्ने तयारी गर्दै थिए । विदेश जान पैसा आवश्यक परेका भन्दै करिब ४ महिनाअघि दिएको सापटी रकम केशवराज र पारुहाङ दुवैले माग्न थालेपछि हायुका बहिनी–ज्वाईं देवराजले नै हत्याको योजना बनाएका थिए ।

हत्या योजना बनाएर गाउँमा बसिरहेका जयराम अधिकारीलाई उनले ललितपुर बोलाएका थिए । त्यसपछि मंसिर २४ मा केशवराज ज्यामिरकोट जंगलमा लगेर गोल्डेन ओकु नामको मदिरा खुवाएर टाउकोमा ह्यामरले प्रहार गरेर हत्या गरेका थिए । हत्यापछि देवराजले २६ गते मात्र बोरामा प्याक गरेर केशवराजले पहिले सञ्चालन गरेको फार्म हाउसको इनारमा लगेर फालेका थिए ।

केशवराजलाई पनि त्यसैगरी रक्सि खान भन्दै महालक्ष्मी नगरपालिका–८ मा पर्ने ज्यामिरकोटमा लगेर गोल्डेन ओक खुवाएर मातेपछि ह्यामरले प्रहार गरेर हत्या गरेका थिए । हत्यापछि पारुहाङको शव ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमानामा पर्ने सुर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा लगेर फालेका थिए ।

दुई जनाको हत्या गरेपछि जयराम गोलोन्जोर गाउँपालिका–५ स्थित दिदीको घरमा लुकेर बसेको अवस्थामा उनलाई प्रहरीले ६ पुसमा पक्राउ गरेर ललितपुरमा ल्याइएको थियो ।

उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरीले घटनाको छानबिनमा अनुसन्धानका सबै आयामलाई ध्यानमा राख्दै अपराधीलाई कानूनी दायरामा ल्याउन तत्परता देखाएको भन्दै उपत्यका प्रहरी कार्यालयलेउक्त पुरस्कार प्रदान गरेको हो ।