काठमाडौं - नेपाली कांग्रेसले आफ्नो १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा सम्पन्न गर्ने गरी संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
केन्द्रीय निर्वाचन समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको विधान, संविधान तथा प्रचलित कानुनअनुसार महाधिवेशनअन्तर्गतका विभिन्न तहका अधिवेशनको मिति सार्वजनिक गरेको हो।
बीपी स्मृति भवन, ललितपुरमा बसेको निर्वाचन समितिको बैठकले विधानको धारा ३५ (२) (च) बमोजिम निर्वाचन कार्यक्रम तय गरेको जनाएको छ ।
संशोधित कार्यतालिकाअनुसार भदौ २४ गते देशभरका ६ हजार ७४३ वडामा वडा अधिवेशन हुनेछ। त्यसपछि भदौ २७ गते गाउँपालिका तथा नगरपालिका अधिवेशन, भदौ ३१ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र असोज ३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ ।
त्यस्तै, असोज ७ गते जिल्ला अधिवेशन र असोज १० गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ। सबै तहका अधिवेशनपछि असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ ।
निर्वाचन समितिका अनुसार निर्वाचन प्रतिनिधिहरूलाई भदौ २ देखि १० गतेसम्म अभिमुखीकरण तालिम दिइनेछ। भदौ ११ गते निर्वाचन अधिकृतहरूलाई सम्बन्धित जिल्लामा खटाइनेछ भने भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि खटाउने कार्य सम्पन्न गरिनेछ। भदौ १६ देखि २० गतेसम्म वडास्तरमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ।
यसैगरी, बाँकी रहेका नेपाली जनसम्पर्क समितिका अधिवेशनहरू भदौ मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ। निर्वाचन समितिका अनुसार अमेरिका, फ्रान्स, नेदरल्याण्ड, जापान, दक्षिण कोरियालगायत १५ वटा देशमा जनसम्पर्क समितिका अधिवेशन यसअघि नै सम्पन्न भइसकेका छन्।
निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार वर्षायामको अवस्था तथा पार्टीभित्र भइरहेको आन्तरिक छलफललाई ध्यानमा राखेर केही समय थप गरी निर्वाचन कार्यतालिका परिमार्जन गरिएको हो।
संशोधित कार्यतालिकासँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी औपचारिक रूपमा थप तीव्र हुने देखिएको छ। वडा तहदेखि सुरु हुने अधिवेशनले क्रमशः स्थानीय, जिल्ला र प्रदेश तह हुँदै केन्द्रीय नेतृत्व चयनको प्रक्रिया अघि बढाउनेछ।



.gif)


