काठमाडौँ - नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता गरी संस्थालाई आर्थिक हानिनोक्सानी पुर्‍याएको आरोपमा प्रहरीले पूर्वअध्यक्ष सञ्जीव थापासहित पाँच जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार पक्राउ पर्नेमा रेडक्रसका तत्कालीन चार पदाधिकारी र एक जना बिचौलिया रहेका छन्।

सीआईबीका अनुसार पक्राउ पर्नेमा मध्यपुर थिमी नगरपालिका–३ निकोसेराका ५२ वर्षीय राजेश देशमरु, नुवाकोटको समुन्द्रटार–६ स्थायी घर भई काठमाडौं–२६ बस्ने ५७ वर्षीय उमेशप्रसाद ढकाल, चाँगुनारायण नगरपालिका–५ का ५८ वर्षीय मदनकृष्ण फोजु, उदयपुर कटारी–३ स्थायी घर भई मध्यपुर थिमी–१ बस्ने ७० वर्षीय सञ्जीव थापा र काठमाडौं–१६ बालाजुका ६७ वर्षीय इन्द्रबहादुर केसी छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त रेडक्रस सोसाइटीसम्बन्धी अनियमितताको छानबिन प्रतिवेदन अध्ययन गर्दा जग्गा खरिदमा बोलपत्रका सर्तविपरीत बिचौलियामार्फत कारोबार भएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २०७३ भदौ २२ गते प्रकाशित सूचनाअनुसार रेडक्रसका लागि गोदामघर सञ्चालन गर्न भक्तपुर नगरपालिका–४ मा रहेका कित्ता नम्बर ८६३, ४९६, ४९७ र ८५८१ को कुल ५ रोपनी १३ आना ३ पैसा जग्गा खरिद गरिएको थियो।

उक्त जग्गाका लागि रेडक्रसले ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरेको थियो। तर अनुसन्धानका क्रममा सो रकममध्ये १ करोड ९३ लाख ७५० रुपैयाँ बिचौलियाले लिएको खुलेको सीआईबीको दाबी छ।

यस्तै, नापी कार्यालय भक्तपुरबाट जग्गाको वास्तविक क्षेत्रफल यकिन गराउँदा कागजातमा उल्लेख गरिएकोभन्दा कम क्षेत्रफल फेला परेको प्रहरीले जनाएको छ। फिल्डमा उक्त जग्गाको क्षेत्रफल ५ रोपनी ६ आना २ पैसा १ दाम मात्र रहेको पाइएको प्रहरीको भनाइ छ।

बोलपत्रका सर्तविपरीत बिचौलियामार्फत जग्गा खरिद गरी रेडक्रसलाई आर्थिक हानिनोक्सानी पुर्‍याएको आरोपमा पाँचै जनालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

पक्राउ परेकाहरूलाई भक्तपुर जिल्ला अदालतबाट अनुसन्धानका लागि अनुमति लिएपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।