काठमाडौं - बैंकको कर्मचारी भएको भन्दै केवाइसी अपडेटका नाममा ग्राहकलाई ठगी गर्ने गिरोहका चार सदस्य पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, रामग्राम नगरपालिका–१७ का २२ वर्षीय विद्य‍ासागर केवट र पर्सा वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुबेर थापा रहेका छन्।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा साइबर ब्यूरोले गत साउन ३१ गते चितवनबाट पक्राउ गरेको हो।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार पछिल्लो समय बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी बैंकबाट फोन गरेको भन्दै केवाइसी विवरण अद्यावधिक गर्न लगाएर ठगी गर्ने समूह सक्रिय रहेको पाइएको छ।

ठगीमा संलग्न व्यक्तिहरूले फोन तथा ह्वाट्सएपमार्फत पीडितसँग सम्पर्क गरी केवाइसी अपडेट गर्नुपर्ने भन्दै विभिन्न विवरण माग्ने गरेका थिए। उनीहरूले पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाउनुका साथै बैंकबाट प्राप्त हुने ओटीपी कोडसमेत माग्ने गरेको अनुसन्धानबाट खुलेको छ।

यसरी प्राप्त ओटीपी तथा अन्य गोप्य विवरण प्रयोग गरी पीडितको बैंक खातामा अनधिकृत पहुँच बनाएर रकम अन्य खातामा स्थानान्तरण गर्ने गरेको ब्यूरोले जनाएको छ।

प्राविधिक विश्लेषणका क्रममा पक्राउ परेका चारै जना ठगीमा संलग्न रहेको खुलेको ब्यूरोले जनाएको छ। उनीहरूमाथि विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमबाट ठगी गरेको कसुरमा अनुसन्धान भइरहेको छ।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।