काठमाडौं - भारतको जवाहरलाल नेहरु विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी संगठनका पूर्व–अध्यक्ष तथा हाल भारतीय कम्युनिष्ट पार्टीका युवा नेता कन्हैया कुमार पछिल्लो समय चर्चाको शिखरमा रहेका छन् । युवा नेताको रुपमा उदाएका कुमार भारतीय चुनावपछि झनै चर्चामा आएका हुन् ।

हालै भारतीय सञ्चारमाध्यममा कन्हैया कुमारको लोकप्रियताको कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयम चिन्तामा परेको समाचार आएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सको यससम्बन्धी समाचारलाई उदृत गर्दै बीबीसी हिन्दीले यसबारेमा समाचार लेखेको छ ।

रोयटर्सले कन्हैया कुमारको व्यक्तिचित्रसम्बन्धी समाचार तयार पार्न सम्पर्क गरेका मोदी सरकारसँग नजिकका एक जना व्यक्तिले यो जानकारी दिएका थिए ।

ती स्रोतका अनुसार युवा अझ पहिलो पटक मतदान दिन लागेका जनसंख्यामा कन्हैया कुमार धेरै लोकप्रियता रहेको कुरामा मोदी सरकार चिन्तित छ । बीबीसी हिन्दीका अनुसार रोयटर्सको समाचारमा उक्त जानकारी दिने नजिकका व्यक्ति नाम भने उल्लेख गरिएको छैन ।