प्रधानसेनापति थापा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता
काठमाडौं - नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय भद्रकालीमा दुई देशका सेनाध्यक्षबीच दुई पक्षीय हित र सहयोग आदानप्रदानका विषयमा छलफल भएको हो ।
भेटमा भारतीय सेनाले दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर लगायतका सामाग्री उपलब्ध गराएको छ । कोरोना महामारी विरुद्धको लडाइमा अझ सघाउ पुर्याउन नेपाली सेनालाई थप भेन्टिलेटर पनि उपहारस्वरुप भारतले प्रदान गरेको छ ।
यसअघि सैनिक मुख्यालयमा नरवणेलाई नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ । सेनाध्यक्ष नरवणेले आजै जंगी अड्डा परिसरमा ओखरको विरुवा पनि रोपेका छन् । यसअघि स्थलसेनाध्यक्षले बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई आजै सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । उनले राष्ट्रपति भण्डारीसँग शिस्टाचार भेट समेत गर्नेछन् । उनी शुक्रबार प्रधानमन्त्री केपी ओलीलाई भेटेर स्वदेश फर्कने कार्यक्रम छ ।
फेसबुक पेज Like गर्नुहोस