पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासे अड्डाबीच समन्वय नहुँदा योजना प्रभावित हुने गरेको बताएका छन् ।

  पोखरा–बेनी–जोमसोम–कोरला सडकखण्डको स्थलगत अध्ययन गरी फर्केको सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको टोलीले आज पोखरामा राखेको छलफल एवम् अन्तरक्रियामा उनले सम्बद्ध अधिकारीमा नै जिम्मेवारी र जवाफदेहिता नहुँदा समस्या हुने गरेको बताए। संघअन्तर्गत सञ्चालित आयोजना सञ्चालनमा पनि प्रदेश सरकारसँग समन्वय नभएको उनले बताए ।

भिजिट नेपाल २०२० हचुवाका भरमा घोषणा गरिएको बताउँदै उनले यस सम्बन्धमा सातवटै प्रदेश कसैसँग पनि परामर्श नगरिएको उल्लेख गरे । मध्यपहाडी लोकमार्गअन्तर्गत १ सय ४२ किलोमिटर सडकखण्ड गण्डकीमा परेको बताउँदै उनले बाग्लुङदेखि बुर्तिवाङ सडक बिग्रेको अवस्थामा रहेको बताए ।

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सबैको सामूहिक प्रयास भयो भने विकास निर्माणले गति लिने बताउँदै एकापसमा समन्वय हुनु जरुरी रहेको बताइन् । 

आयोजना प्रमुख मुकुन्दराज अधिकारीले बेनी जोमसोम सडकखण्डमा चारवटा ठेक्का रहेको जानकारी दिँदै हालसम्म झन्डै ४७ देखि ५० प्रतिशत भौतिक प्रगति भएको बताए । घाँसा जोमसोम सडकखण्ड कालोपत्र गर्ने अवस्थामा रहेको उनले जानकारी दिए ।

  अधिकारीका अनुसार जोमसोम कोराला सडक खण्डमा सात वटा ठेक्का रहेकामा चार वटाको काम सकिएको छ भने तीन वटाको ५० प्रतिशत भौतिक प्रगति भएको छ । बाँकी योजना सम्पन्न हुन पाँच÷६ महिना समय लाग्ने उनले जानकारी दिए । सांसद पदम गिरीले भिजिट नेपाल २०२० घोषणा भइसकेका अवस्थामा सडक पूर्वाधार भने पर्यटक ल्याउने अवस्थामा नरहेको बताए । यथास्थितिमा नै पर्यटक ल्याउने हो भने त्यसले राम्रो सन्देश नदिने बताउँदै उनले यसतर्फ गम्भीर बन्नुपर्ने धारणा राखे ।