स्थानीय तह निर्वाचनको तयारीमा एमाले, पालिकादेखि वडासम्म ३०१ नेताको जिम्मेवारी तोकियो
काठमाडौं - केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले केन्द्रीय कमिटीका सबै नेताहरूको जिम्मेवारी निर्धारण गरेको छ ।
पार्टी सचिवालय बैठकले केन्द्रीय कमिटीका नेताहरूको कार्यविभाजन तथा जिम्मेवारी टुंगो लगाएको हो ।
आउने स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर एमालेले ‘पार्टी जागरण अभियान’ पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी तोकेको हो ।
यही जेठ ११ गते सम्पन्न एमालेको सचिवालयको बैठकले कार्यविभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई अधिकार दिएको थियो ।
अध्यक्ष ओलीले शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै यो अभियान घोषणा र पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो कार्यविभाजन पठाएका हुन्। कार्यविभाजनमा जिल्ला इञ्चार्ज र जनसङ्गठनका इञ्चार्ज पनि तोकिएको छ ।
कार्यविभाजनअनुसार अध्यक्ष ओलीले समग्र कामको नेतृत्व र महासचिव पोखरेलले पार्टीको संगठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ । उपाध्यक्ष र उपमहासचिवहरुलाई पार्टीका विभाग तथा फाँटहरूको संयोजनको जिम्मेवारी दिइएको छ ।
साथै पार्टी अध्यक्ष ओलीले पार्टीमाथि विभिन्न कोणबाट प्रहार भइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा नेता–कार्यकर्ता अझ एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
उनले पार्टीको संगठनात्मक एकता, अनुशासन र सक्रियतालाई सुदृढ बनाउँदै जनतामाझ प्रभावकारी रूपमा प्रस्तुत हुन सबैलाई आह्वान गरेका छन् ।
एमालेले जिम्मेवारी बाँडफाँटसँगै पार्टी संगठनलाई थप गतिशील, सुदृढ र प्रभावकारी बनाउने अपेक्षा गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस