काठमाडौं - एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा नेपाल घरेलु टोली मलेसियासँग पराजित भएको छ।

शनिबार मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा भएको खेलमा नेपाल दुई विकेटले पराजित भएको हो।  टस जितेर पहिला ब्याटिङ गरेको नेपालल १२७ रनको लक्ष्य मलेसियालाई दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मसेसियाले १८।४ ओभरमै ८ विकेट गुमाएर लक्ष्य भेटाएको हो। 

मलेसियाकी एलिसा हन्टरले सर्वाधिक ४८ रनको योगदान गरिन् । धनुश्री मोहुनानले २१,आइना हासिमले १८ र माहिरा स्माइलाले १४ रन बनाए । नेपालकी रिया शर्माले तीन विकेट लिइन् । मनिषा उपाध्याय र रुबिना क्षेत्रीले समान दुई विकेट हात पार्दा सीता रानामगरको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२६ रनको योगफल खडा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ४६ रन जोडिन् । कविता कुँवरले ३३, रुवी पोदारले १७ र पूजा महतोले १५ रन जोडे । मलेसियाकी विनिफ्रेड दुराइसिंघमले दुई विकेट लिइन् । आइसा एलिसा र माहिरा स्माइलाले समान एक विकेट लिए ।

यो हारसँगै फाइनलमा पुग्दै यही वर्ष जापानमा हुने एसियाली खेलकुदका लागि सिधै छनोट हुने अवसर नेपालका लागि फुत्किएको छ। तर अर्को अवसर भने नेपाललाइ छ। अब नेपालले तेस्रो स्थानका लागि हुने खेलमा जित हासिल गर्नुपर्ने हुन्छ। यो छनोटबाट फाइनलमा पुग्ने दुई टोली र तेस्रो हुने टोली एसियाली खेलकुदका लागि छनोट हुनेछन्। 

समूह चरणको पहिलो खेलमा चीलाई १९ रन र इन्डोनेसियालाई ४ विकेटले हराएको नेपाल सेमिफाइनलमा भने मलेसियासँग पराजित हुन पुगेको हो।  अब उपाधिका लागि मलेसियाले थाइल्यान्डको  सामना गर्नेछ । नेपालले तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ ।