काठमाडौं - नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा कम्तीमा १०० स्थानीय तहको प्रमुख पदमा महिलालाई उम्मेदवार बनाउने घोषणा गरेको छ।

शनिबार सानेपामा आयोजित नेपाल थारु संघको अधिवेशनलाई सम्बोधन गर्दै कांग्रेस सभापति गगन थापाले महिलाको राजनीतिक नेतृत्व र प्रतिनिधित्वलाई थप सशक्त बनाउन पार्टीले विशेष तयारी थालेको बताएका हुन्।

उनले आगामी वर्ष स्थानीय तह तथा प्रदेशसभा निर्वाचन हुने उल्लेख गर्दै कांग्रेसले ७५३ स्थानीय तहमध्ये कम्तीमा १०० पालिकामा महिला उम्मेदवारलाई मेयर वा गाउँपालिका अध्यक्षको जिम्मेवारीसहित चुनावी मैदानमा उतार्ने लक्ष्य लिएको बताए।

'अर्को साल निर्वाचन छ, स्थानीय चुनाव आउँछ, प्रदेशको चुनाव आउँछ। यो पटक कम्तीमा पनि ७५३ मध्ये हामीले १०० पालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर अथवा अध्यक्षको उम्मेदवार महिला बनाउने गरी काम गर्नुपर्छ। अहिलेदेखि तयारी गरौँ, अहिलेदेखि कोसिस गरौँ,' थापाले भने।

उनले महिला नेतृत्वलाई संस्थागत रूपमा अघि बढाउन पार्टीभित्र आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। यसका लागि उम्मेदवार छनोट र चुनावी तयारीलाई व्यवस्थित बनाउन कांग्रेसले निर्वाचन ब्युरो गठन गरिसकेको जानकारी पनि दिए।

सभापति थापाले नयाँ पुस्ताका नेताहरू उत्पादन गर्न र नेतृत्व विकासलाई व्यवस्थित बनाउन ‘लीडरशिप एकेडेमी’ स्थापना गरिएको उल्लेख गर्दै त्यसका लागि छिट्टै खुला आह्वान गरिने बताए।