नयाँ वर्ष २०२० मा कुन राशिलाई कस्तो लाभ ? अवश्य पढ्नुहोस्
काठमाडौं - बुधबारदेखि नयाँ वर्ष २०२० सुरु हुँदैछ । ज्योतिषीय दृष्टिकोणबाट समेत नयाँ वर्षमा हुन सक्ने शुभ-अशुभ घटनाहरुबारे चर्चा हुने गर्छ ।
सामान्यतया ग्रह गोचरका आधारमा राशि शुभ-अशुभ भएको विश्लेषण गरिन्छ । ज्योतिषशास्त्रलाई मान्ने हो भने सन् २०२० सालमा केही व्यक्तिहरु भाग्यशाली हुनेछन् । नयाँ वर्ष केही राशिका लागि निकै लाभदायक देखिन्छ भने केही राशिका लागि निकै हानिकारक छ । कुनै-कुनै राशि भएका व्यक्तिका लागि नयाँ वर्ष मिश्रित रहनेछ ।
नयाँ वर्ष २०२० कुन राशिका लागि उत्तम, कुन राशिका लागि मिश्रित र कुन राशिका लागि हानिकारक छ भनेर यहाँ संक्षिप्त चर्चा गरिएको छ ।
१. मेष
मेष राशिका लागि यो वर्ष फलदायक रहेको छ । मुख्यगरी पेशा र व्यापारमा ठूलो सफलता हात पर्नेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । वाहन तथा जग्गाजमीन जोड्न सकिने अवस्था छ । कार्यालयका सहकर्मीले गोप्य जानकारी प्राप्त गरेमा तपाईंबाट नाजायज फाइदा उठाउन सक्नेछन् । त्यसैले आफ्नो कामकारबाहीमा उचित गोपनीयता अपनाउनुहोला । आर्थिक कारोबारमा उचारचढाव देखिए पनि समग्रमा यो वर्ष लाभदायक नै हुनेछ । साथै सामाजिक कार्यमा समेत मन जानेछ । उच्च पदस्थ व्यक्तिबाट सम्मान प्राप्त हुने योग छ । पारिवारित तथा प्रेम सम्बन्ध थप घनिष्ठ बन्नेछ । विद्यार्थीका लागि नयाँ वर्ष मिश्रित खालको छ । उच्च शिक्षाका लागि विदेशयात्राको योग पनि देखिन्छ । मार्च र अक्टोबर महिना बढी शुभ रहेका छन् । यो वर्ष तपाईंका लागि शुभ अंक ९, १८ र २७, शुभ दिशा पूर्व र शुभ रंग रातो रहनेछन् । ग्रहको शुभ प्रभावका लागि गरिबलाई बेलाबेला शनिबार पारेर खाने तोरीको तेल दान गर्नु वा असहायलाई भोजन गराउनुहोला ।
२. वृष
वृष राशिका लागि यो वर्ष मिश्रित रहने देखिन्छ । यो राशि भएका व्यक्तिका लागि २०२० साल मध्यम रहनेछ । बेलाबेला कठिन चुनौती आइपर्न सक्छन् । तर मेहेनत र विवेकका कारण समग्रमा उपलब्धिमूलक वर्ष रहनेछ । सही समयमा सही निर्णय गर्नुभयो र सोही अनुसार अघि बढ्नु भयो भने सफलता हात लाग्नेछ । आर्थिक रुपमा उतारचढाव आउन सक्छ । त्यसैले कुनै पनि कुरामा लगानी गर्नुपूर्व सोचविचार पुर्याउनुहोला र मान्यजनको सल्लाह लिनुहोला । आर्थिक लेनदेनमा समेत सावधानी अपनाउनुहोला । व्यापार/व्यवसायबाट मिश्रित फल प्राप्त हुनेछ । पारिवारिक तथा प्रेम सम्बन्धमा बेलाबेला विवाद देखिएला । जागिर गर्नेहरुले नयाँ कुरा सिक्न पाउनेछन् । विद्यार्थीका लागि यो वर्ष राम्रो छ । पढाइलेखाइमा महत्वपूर्ण सफलता हात पर्ला । यो वर्षको फेब्रुअरी १५ सम्म वृष राशिवालालाई अढैया शनिको प्रभाव रहने हुनाले जम्म कुण्डलीमा शनि अशुभ हुनेका लागि झुठा आरोप लाग्ने, कार्यमा ढिलासुस्ती हुने, सञ्चित धनको नाश हुने र मनमा अशान्ति पैदा हुन सक्छ । विरोधीहरुले तपाईंको काममा बाधा पार्न सक्नेछन् । शनिको शुभ फल प्राप्त गर्न हनुमान चालिसा तथा शनिस्तोत्र पाठ गर्नुहोला । साथै शान्ति कर्म गर्नुहोला । फेब्रुअरी १६ देखि शनिको अढैया सकिने छ । तपाईंका लागि यो वर्ष शुभ अंक ६, १५ र २४ हुनेछन् । शुभ रंग सेतो र शुभ दिशा दक्षिण रहनेछन् । यो वर्ष ग्रहको शुभ प्रभावका लागि देवीको पूजाआजा गर्नुहोला, बेलाबेला १० वर्षमुनिका कन्यालाई मिठाइ तथा फलफुल दान गर्नुहोला ।
३.मिथुन
मिथुन राशिका लागि नयाँ वर्षको सुरुवात मध्यम खालको हुनेछ । जुनदेखि उत्तम हुँदै जानेछ । यो वर्ष केही अवसर र केही चुनौती देखिनेछन् । आर्थिक कारोबार, स्वास्थ्य, परिवार र पेशासम्बन्धी समस्या देखिनेछन् । तर वौद्धिक तथा सिर्जनात्मक कार्यमा सक्रियता बढ्ने छ । सामाजिक एवं राजनीतिक कार्यमा समेत तपाईंको कार्यको कदर हुनेछ । परिवारमा मांगलिक कार्य हुनेछन्, सन्तानबाट सुख प्राप्त हुनेछ । विदेशको यात्रा गर्ने योग छ । आयात तथा निर्यात कारोबारबाट बढी लाभ हुने योग छ । राहुको प्रभावले राम्रा काममाथि समेत आलोचनको सामना गर्नुपर्ने छ । जीवनसाथीसँग भावनात्मक दूरी बढ्न सक्छ । विवाहबेत्तर सम्बन्धका कारण वैवाहिक जीवन तनावपूर्ण बन्न सक्छ । अध्ययन/अध्यापन कार्यमा सफलता प्राप्त हुनेछ । विद्यार्थीले सोचे अनुसार नै प्रगति गर्ने योग छ । जागिरमा रहेकाले रोजगारी फेर्न सक्ने अवस्था छ । प्रेम सम्बन्ध सकरात्मक रहनेछ । तपाईंको सुखदुःखमा प्रेमी/प्रेमिकाले साथ दिनेछन् । सेप्टेम्बर र अक्टोबर महिना तुलनात्मक रुपमा बढी लाभदायक हुनेछन् । यो वर्ष तपाईंका लागि शुभ अंक ५, १४ र २३ हुन् । शुभ रंग हरियो र सुन्तला रंग हुन् भने शुभ दिशा पश्चिम हुनेछ । ग्रहको शुभ प्रभावका लागि शनिबार पिपलमा जल चढाउनुहोला । मठमन्दिरलाई सफा गर्ने कार्यमा लाग्नुहोला ।
४. कर्कट
कर्कट राशिका लागि यो वर्ष शुभ रहेको छ । नयाँ वर्षमा महत्वपूर्ण भेटघाट र कार्यबाट उपयोगी ज्ञान हासिल गर्ने योग छ । तपाईंको सञ्चार सिपले आर्थिक तथा सामाजिक हैसियत माथि उठ्ने छ । साथीभाइ, इष्टमित्रबाट साथ र सहयोग प्राप्त हुनेछ । यो वर्ष आर्थिक स्थिति सबल रहनेछ । व्यापार/व्यवसायमा लगानी अनुसारको प्रतिफल प्राप्त होला । जागिर गर्नेका लागि भने केही चुनौती र बाधा आइपर्न सक्छ । तर प्रेम तथा पारिवारिक जीवन भने सकरात्मक हुनेछ । कठिनाइमा साथीभाइबाट सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध विवाहमा परिणत हुन सक्ने योग छ । वौद्धिक क्षेत्रमा सफलता हात पर्ला । विद्यार्थीका लागि पनि नयाँ वर्ष राम्रो रहेको छ । शैक्षिक क्षेत्रमा परिश्रम अनुसारको प्रगति हात लाग्ला । सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ भने शत्रुहरु प्रभावित हुनेछन् । भोगविलासमा धन खर्च हुने योग छ त्यसैले खर्च गर्दा ध्यान दिनुहोला । तपाईंका लागि यो वर्ष शुभ अंक २, शुभ रंग सेतो र शुभ दिशा उत्तर रहनेछ । ग्रहको शुभ प्रभावका लागि हनुमान चालिसाको पाठ गर्नु वा सुन्नुहोला ।
५. सिंह
सिंह राशिका व्यक्तिका लागि २०२० उत्तम रहनेछ । नयाँ अवसर सिर्जना हुनेछ । प्राप्त अवसरलाई विवेक पुर्याएर सदुपयोग गर्नुहोला, सफलता अवश्य प्राप्त हुनेछ । यो वर्ष हात हालेका कामहरु सम्पन्न हुनेछन् । व्यापार/व्यवसायको सिलसिलामा यात्रा गर्ने योग छ । साथै अप्रिलदेखि जुलाईसम्मको अवधिमा विदेश यात्राको योग देखिन्छ । यो वर्ष आर्थिक रुपमा सबल रहनेछ । व्यापार/व्यवसायिक वर्गका लागि शुभ समय रहनेछ । कृषि र वैदेशिक क्षेत्रबाट बढी लाभ हुने देखिन्छ । वौद्धिक तथा सिर्जनात्मक कार्यबाट नाम र दाम दुबै कमाउने योग छ । जागिर गर्नेहरुका लागि पदोन्नति हुने योग छ । कार्यस्थलमा जिम्मेवारी थपिन सक्छ । उच्च पदस्थ व्यक्तिबाट पुरस्कार प्राप्त होला । विद्यार्थीको पढाइमा निकै सुधार हुन गई मेडल तथा पुरस्कार प्राप्त होला । प्रेम सम्बन्ध र पारिवारिक जीवन मिश्रित रहनेछ । सन्तानको स्वास्थ्यमा समस्या देखिने र सञ्चित धन खर्च हुने योग छ । जनवरी, मार्च र मे महिना तुलनात्मक रुपमा लाभदायक हुनेछन् । तपाईंका लागि यो वर्ष शुभ अंक १, शुभ रंग रातो र पहेँलो रहनेछन् । ग्रहको शुभ प्रभावका लागि सूर्यलाई जल चढाउने र पूजा गर्नुहोला ।
६. कन्या
कन्या राशिका लागि समेत यो वर्ष शुभ नै रहने छ । दाजभाइ तथा साथीहरुबाट सहयोग मिल्नेछ । व्यापार/व्यवसायबाट राम्रो लाभ हुनेछ । मेदेखि जुन महिनामा विदेश जाने योग छ । आयात/निर्यातसम्बन्धी कार्यबाट प्रशस्त धन आर्जन हुने देखिन्छ । लिएको ऋण तिर्ने योग छ । समग्रमा यो वर्ष तपाईंको आर्थिक अवस्था सबल रहनेछ । जागिर गर्नेहरुका लागि समेत नयाँ वर्ष शुभ रहनेछ । पदोन्नति हुने संभावना छ भने चाहेको स्थानमा सरुवा समेत हुने देखिन्छ । वौद्धिक व्यक्तिहरुसँग घनिष्ठता बढ्नेछ । रचनात्मक एवं सामाजिक कार्यबाट इज्जत र प्रतिष्ठा प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जीवन सकरात्मक रहनेछ । राजनीतिक क्षेत्रमा समेत तपाईंको उचाइ बढ्ने छ । जीवनसाथीबाट उचित साथ र सहयोग प्राप्त हुनेछ । तर पढाइलेखाइ भने मध्यम रहनेछ । यो वर्षको फेब्रुअरी १५ सम्म वृष राशिवालालाई अढैया शनिको प्रभाव रहने हुनाले जम्म कुण्डलीमा शनि अशुभ हुनेका लागि झुठा आरोप लाग्ने, कार्यमा ढिलासुस्ती हुने, सञ्चित धनको नाश हुने र मनमा अशान्ति पैदा हुन सक्छ । विरोधीहरुले तपाईंको काममा बाधा पार्न सक्नेछन् । शनिको शुभ फल प्राप्त गर्न हनुमान चालिसा तथा शनिस्तोत्र पाठ गर्नुहोला । तपाईंका लागि यो वर्ष शुभ अंक ५, शुभ रंग हरियो र शुभ बार बुधबार रहनेछन् । यो वर्ष ग्रहको शुभ प्रभावका लागि शनि स्तोत्र पाठ एवं विष्णुको पूजा गर्नुहोला ।
७. तुला
तुला राशिका लागि यो वर्ष उत्साहजनक रहनेछ । नयाँ वर्षमा रमाइलो अनुभव लिने र नयाँ कुरा सिक्ने अवसर जुट्ने छ । प्रशस्त धन आर्जन र बचन हुने योग छ । नयाँ क्षेत्रमा लगानी गर्ने अवसर जुट्ने छ भने आम्दानीका नयाँ स्रोतहरु फेला पर्नेछ्न् । अपूर्ण कार्यहरु पूरा हुनेछन् । कर्मचारीका वर्गका लागि भने यो वर्ष कार्यको बोझ थपिने योग छ । सामाजिक तथा धार्मिक कार्यमा तपाईंको मन जानेछ । जोश, जाँगर, उत्साह र आत्मविश्वास बढ्नेछ । विपरीत लिङ्गीको महत्पपूर्ण साथ र सहयोग प्राप्त भई चुनौतीहरु सामना गर्न सहज होला । नयाँ घर, जमीन तथा वाहन किन्ने योग छ । यो वर्ष परिवारमा बेलाबेला समस्या देखिनेछन् । यात्रा तथा कामको बोझले गर्दा तपाईंको स्वास्थ्यमा समस्या देखिन सक्छ । खानपान र जीवनशैलीमा ध्यान दिनुहोला । साथै मातापिताको स्वास्थ्यमा समेत समस्या देखिन सक्छ । त्यस्तै जीवनसाथीसँग समेत बेलाबेला विवाद बढ्न सक्ला । विवादले गर्दा राम्रा कामहरु गुमाउनु पर्ला त्यसैले सचेत रहनुहोला । विद्यार्थीका लागि यो वर्ष उत्तम रहेको छ । मेहेनत अनुसार प्रगति हात पर्नेछ । यो वर्ष प्रेम सम्बन्ध समेत सुमधुर रहनेछ । विदेश भ्रमण गर्ने योग छ । तुला राशिलाई फेब्रुअरी १५ देखि अढैया शनिको प्रभाव रहने हुनाले जन्म कुण्डलीमा शनि कमजोर हुने व्यक्तिलाई शनिको खराब प्रभावले सताउन सक्छ । यो वर्ष तपाईंका लागि शुभ अंक ६, शुभ रंग सेतो र हरियो रहनेछन् भने शुभ दिशा पश्चिम रहनेछ । ग्रहको शुभ प्रभावका लागि हनुमान चालिसाको पाठ गर्नु वा सुन्नुहोला । साथै हनुमानको पूजा गर्नुहोला ।
८. वृश्चिक
वृश्चिक राशिका लागि यो वर्ष उत्तम रहनेछ । लामो समयदेखि रोकिएर बसेका कार्यहरु पूरा हुनेछन् । महत्वपूर्ण र नयाँ कार्य सुरु हुन सक्छ । फेब्रअरी १५ देखि अढैया शनिको प्रभाव अन्त्य हुनेछ र यसले गर्दा दुःख र चिन्ताबाट समेत मुक्ति मिल्नेछ । सामाजिक कार्यको उचित मूल्याङ्कन हुनेछ, सामाजिक कार्यबाट इज्जत र प्रतिष्ठा बढ्नेछ । यो वर्ष तपाईंको सञ्चार सिप मजबुत हुनेछ । तपाईंको बोलीको प्रभावले गर्दा उच्च पदस्थ व्यक्तिले तपाईंको सल्लाह र सुझाव सुन्नेछन् । कामप्रतिको लगनशीलता र दृढताले तपाईंलाई नयाँ उचाइमा पुर्याउनेछ । आर्थिक रुपले हेर्दा कृषि तथा पशुजन्य वस्तु र सेवाबाट बढी लाभ हुनेछ । तीर्थयात्रा तथा पर्यटकीय क्षेत्रको भ्रमण गर्ने योग छ । सन्तानबाट सुख प्राप्त हुनेछ । विद्यार्थीका लागि यो वर्ष निकै उत्तम छ । उच्च शिक्षा तथा रोजगारीका सिलसिलामा विदेश जाने योग छ । प्रेम तथा वैवाहिक जीवन समेत सुखमय हुनेछ । घर, परिवारमा सुख र शान्ति कायम हुनेछ । अहंकारले गर्दा प्रेम सम्बन्धमा बेलाबेला समस्या देखिन सक्छ । यो वर्ष तपाईंका लागि शुभ अंक ९, शुभ रंग रातो र शुभ दिशा उत्तर हुनेछ । ग्रहको शुभ प्रभावका लागि गरिब तथा अनाथलाई बेलाबेला भोजन गराउनुहोला ।
९. धनु
यो वर्ष धनु राशिका लागि मिश्रित रहनेछ । पेशागत क्षेत्रमा स्थिरता कायम हुनेछ । पेशा र नोकरीमा सफलता मिल्नेछ । नोकरीमा पदोन्नति हुने योग छ । व्यापार/व्यवसायमा भने मिश्रित खालको उपलब्धि हासिल हुने देखिन्छ । उचित समयमा गरिएको लगानीबाट अपेक्षित लाभ प्राप्त होला । यो वर्ष तपाईंको सामाजिक एवं राजनीतिक प्रतिष्ठा बढ्ने छ । सहयोगी भावना बढ्ने छ । समाजमा शान्ति एवं सदभाव कामय गर्ने कार्यमा तपाईंको अहम भूमिका हुनेछ । साथीभाइसँग रमाइला क्षणहरु व्यतित हुने देखिन्छ । कार्यस्थलमा सहकर्मीबाट साथ तथा सहयोग प्राप्त हुनेछ । पारिवारिक जीवन भने यो वर्ष कमजोर रहने योग छ । विशेषगरी जीवनसाथीसँग विश्वासको संकट देखिनेछ । परिवारका सदस्यको स्वास्थ्य बिग्रँदा सञ्चित धन खर्च हुन सक्छ । प्रेम सम्बन्ध मिश्रित रहनेछ । प्रेम तथा पारिवारिक जीवन सुमधुर बनाउन अहंकार तथा क्रोधलाई नियन्त्रणमा राख्नुहोला । यो वर्ष अध्ययन/अध्यापन कार्य सफल रहनेछ । पढाइलेखाइमा विद्यार्थीको मन जानेछ भने आफ्ना प्रतिस्पर्धीलाई चुनौती दिन सक्नु हुनेछ । यो वर्ष धनु राशिलाई मध्य साढे साती शनिको प्रभाव रहने हुनाले जन्म कुण्डलीमा शनि अशुभ रहने व्यक्तिका लागि झुठा आरोप लाग्ने, कार्यमा ढिलासुस्ती हुने, सञ्चित धनको नाश हुने र मनमा अशान्ति पैदा हुन सक्छ । विरोधीहरुले तपाईंको काममा बाधा पार्न सक्नेछन् । शनिको शुभ फल प्राप्त गर्नका लागि शनिस्तोत्र पाठ गर्नुहोला । साथै हनुमान चालिसाको पाठ गरी शान्ति कर्म गर्नुहोला । यो वर्ष तपाईंका लागि शुभ अंक ३, १२ र २१ हुनेछन् । शुभ रंग सुन्तला र शुभ दिशा पूर्व हुनेछ । ग्रहको शुभ प्रभावका लागि शनिबार पिपलमा जल चढाउँदा र खाने तेल दान गर्दा शुभ हुनेछ ।
१०. मकर
मकर राशिका लागि यो वर्ष मिश्रित रहने देखिन्छ । नयाँ वर्षमा तपाईंको जीवनमा अनेक किसिमका कठिनाइ र चुनौतीहरु आइपर्ने छन् । विवेकका साथ सही निर्णय लिने हो भने यो वर्ष सफल हुने देखिन्छ । मानसिक चिन्ता बढ्ने र मन समेत व्याकुल हुने योग छ । जनवरी २४ देखि शनि तपाईंको राशिमा प्रवेश गर्नेछन् जसले गर्दा तपाईंको साहस र पराक्रम वृद्धि हुनेछ । वृहस्पति मार्च ३० देखि तपाईंको राशिमा प्रवेश गर्नेछन् । जसले गर्दा तपाईंको शिक्षा, प्रेम सम्बन्ध, व्यापार/व्यवसाय र सामाजिक सम्बन्धमा महत्वपूर्ण सुधार आउने छ । समग्रमा हेर्दा वर्षको मध्य भागदेखि तपाईंको सकरात्मक समय सुरुवात हुनेछ । यो वर्ष प्रशासनिक क्षेत्रका कामहरु सम्पन्न हुनेछन् भने असल कार्यबाट धन आर्जन हुनेछ । साथीभाइबाट महत्वपूर्ण साथ र सहयोग प्राप्त हुनेछ । व्यापार/व्यवसायमा विस्तार हुनेछ । नोकरी गर्नेहरुका लागि सकरात्मक समय हुनेछ । प्रेम तथा पारिवारिक जीवन सुखद रहनेछ । आफ्ना प्रेमी/प्रेमिकाबाट सुखदुःखमा सहयोग प्राप्त हुनेछ । साथै नसोचेको काममा धन खर्च हुने योग समेत छ । अन्य क्षेत्रमा हुने खर्च समेत नियन्त्रण गर्न कठिन हुनेछ । यो वर्ष तपाईंका लागि शुभ अंक १, १० र १९ हुन् । शुभ रंग निलो र शुभ दिशा दक्षिण रहनेछ । ग्रहको शुभ प्रभावका लागि भगवान श्री गणेशको पूजा गर्दा राम्रो हुनेछ ।
११. कुम्भ
कुम्भ राशिका लागि २०२० मिश्रित रहने देखिन्छ । यो वर्ष तपाईंले विभिन्न चुनौतीको सामना गर्नुपर्ने योग छ । तर दृढ इच्छाशक्तिका कारण सबै चुनौती र समस्या कम हुँदै जानेछन् । मुख्य ग्रहहरु राहु पञ्चम भावमा, वृहस्पति कर्म स्थानमा र शनि तथा केतु लाभ स्थानमा गोचर गर्नेछन् । जनवरी २४ देखि शनि व्यय भावमा स्थानान्तरण हुनेछन् जसले गर्दा धेरै यात्रा गर्नुपर्ने अवस्था आउन सक्छ । कतिपय यात्रा तपाईंको इच्छाविपरीत हुनेछन् । विदेश यात्राको संभावना पनि छ । कर्म स्थानमा वृहस्पतिको बलियो प्रभाव हुने भएकाले नोकरीमा सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धात्मक परीक्षामा अन्य प्रतिस्पर्धीलाई जित्नु हुनेछ । अधुरा कार्यहरु पूरा हुनेछन् । वौद्धिक एवं सिर्जनात्मक क्षमता बढ्ने छ । स्वास्थ्यमा विभिन्न उतारचढाव आउने देखिन्छ । केही समय अस्पताल भर्ना हुने समेत योग देखिन्छ । त्यसैले आफ्नो स्वास्थ्यको निकै ख्याल गर्नुहोला । व्यापार/व्यवसायमा सफलता मिल्नेछ । तर आम्दानीसँगै खर्च समेत बढ्ने देखिन्छ । विद्यार्थीका लागि राम्रो समय छ । लगनशील भएर पढाइमा ध्यान दिएमा उच्च प्रगति हासिल गर्नु हुनेछ । पारिवारिक सम्बन्ध मिश्रित रहनेछ । सन्तानका कारण केही समस्या देखिन सक्छन् । यो वर्ष प्रेम सम्बन्धमा समेत समस्या देखिने र सम्बन्ध नै टुट्न सक्ने योग छ । आफ्ना साथीको भावना र आफ्नो भावनालाई समेत नियन्त्रण गर्नुहोला । साथै बासस्थान सर्ने योग समेत परेको छ। यो वर्ष तपाईंका लागि शुभ अंक ४, १३ र २२ रहेका छन् । शुभ रंग निलो रहनेछ भने शुभ दिशा पश्चिम रहनेछ । ग्रहको शुभ प्रभावका लागि लक्ष्मी माताको पूजा गर्दा राम्रो होला ।
१२. मीन
यो वर्ष मीन राशिका लागि उत्तम रहनेछ । तपाईंको कार्यको योगदान स्वरुप मान, पदवी र सम्मान प्राप्त हुने योग छ । जसले गर्दा मन प्रफुलित रहनेछ । आध्यात्मिक एवं सामाजिक कार्यमा मन जानेछ । घरमा मांगलिक कार्य समेत सम्पन्न हुनेछन् । आर्थिक अवस्था सबल रहनेछ भने व्यापार/व्यवसायबाट राम्रो आम्दानी होला । यो वर्ष अभिनय, नाटक, फोटोग्राफी तथा सञ्चार प्रविधि क्षेत्रबाट बढी नाफा हुने देखिन्छ । सामाजकि क्षेत्रमा संलग्न व्यक्तिका लागि समेत यो वर्ष उत्तम रहेको छ । सामाजिक एवं राजनीतिक क्षेत्रबाट सम्मान प्राप्त हुने योग छ । नोकरीमा समेत सफलता मिल्नेछ । वृहस्पतिको गोचर १० औं भावमा रहने हुनाले नयाँ नोकरीमा प्रवेश गर्दा ग्रहले साथ दिनेछ । लोकसेवा एवं अन्य प्रतिस्पर्धामा अन्य प्रतिस्पर्धीलाई पछाडि पार्नु हुनेछ । कार्यरत कर्मचारीका लागि बढुवा हुने र सेवासुविधा वृद्धि हुने योग छ । साथै सरुवाको समेत योग छ । यो वर्ष पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । यसअघि देखिएका विवादहरु साम्य हुनेछन् भने परिवारमा शान्ति र एकता कामय हुनेछ । जसले गर्दा तपाईंको आत्मविश्वास बढ्न गई कठिन चुनौतीलाई सजिलै पार लगाउन सक्नु हुनेछ । त्यस्तै अध्ययन/अध्यापन कार्यमा समेत सफलता हात पर्नेछ । उच्च शिक्षाका लागि विदेश जाने योग छ । प्रेम सम्बन्ध मिश्रित रहनेछ । किनभने बेलाबेला विवादहरु देखिनेछन् । साथै आँखासम्बन्धी समस्या देखिन सक्छ । यो वर्ष तपाईंका लागि शुभ अंक ३, १२ र २१ रहनेछन् । शुभ रंग पहेँलो र शुभ दिशा उत्तर रहनेछन् । ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पूजा गर्दा राम्रो होला ।
फेसबुक पेज Like गर्नुहोस