लकडाउनले मात्रै समस्याको हल हुदैन : गृहमन्त्री थापा
काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले लकडाउन गरेर मात्रै समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको बताएका छन्।
उनले लकडाउनका कारण आर्थिक समस्याहरु देखिन थालेपछि सरकारले कोरोना र आर्थिक संकटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको प्रष्ट पारे ।
गृहमन्त्री थापाले सीमाबाट नेपाल प्रवेश गर्ने १० वटा नाका तोकेपनि अझैपनि लुकिछिपी आउने क्रम नरोकिएको र यसको नियन्त्रणका लागि अधिकतम प्रयास भैरहेको बताए ।
अहिले पनि खुला नाकाहरु नियन्त्रणका लागि १ हजार २ सय भन्दा बढी बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गरिएको उनको भनाई थियो ।
गृहमन्त्री थापाले अहिले देशमा बाढी पहिरो र कोरोनाको संकट एकैपटक आएकाले यसको समाधानमा जटिलता पैदा गरेको उल्लेख गरे ।
विपदको समस्या गृहको मात्रै नभएर अन्य केही सरोकारवालाहरुको पनि समस्या भएकाले ती निकायहरुबीच तालमेल हुन नसक्दा उद्धार तथा राहत कार्यमा केही जटिलता आएको उनको भनाई थियो ।
फेसबुक पेज Like गर्नुहोस