सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पनि पारित
काठमाडौं - सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम राष्ट्रिय सभा बैठकबाट पनि बहुमतले पारित भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत केही प्रतिपक्षी दलहरूले विरोध गरेपनि बैठकबाट बहुमतबाट पारित भएको अध्यक्ष गणेश तिमिल्सीनाले घोषणा गरेका हुन् ।
यसअघि सांसदले उठाएका प्रश्नमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिँदै नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गर्न आग्रह गरेका थिए । कार्यक्रममाथि सदस्य अनिता देवकोटा, शेखरकुमार सिंह र प्रमिलाकुमारीले गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
यसअघि प्रतिनिधि सभाबाट पनि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो । पारित कार्यक्रमका आधारमा सरकारले यही जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ ।
बैठकले केही नेपाल ऐन संशोधनको साविकको ऐन जगाउनेसम्बन्धी ऐनलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि पारित गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ ७ गते बिहान ११ बजे बस्नेछ ।
फेसबुक पेज Like गर्नुहोस