काठमाडौं - नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् ।

सभापति गगनकुमार थापासँग भएको भेटपछि रिजाल उम्मेदवारी फिर्ता लिन सहमत भएका हुन् । थापाले रिजाललाई उपसभापतिमा उम्मेदवारी नदिन आग्रह गर्दै महाधिवेशनपछि उपयुक्त जिम्मेवारी दिने आश्वासन दिएको बताइएको छ ।

रिजालले थापासँग भएको भेट र उम्मेदवारी फिर्तासम्बन्धी कुराकानीको भिडियोसमेत आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन् ।

रिजालका स्वकीय सचिव जितेन्द्र ठकुरीका अनुसार थापाले सार्वजनिक स्थानमै तथा व्यक्तिगत भेटमा समेत उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । महाधिवेशनपछि उचित जिम्मेवारीमा व्यवस्थापन गर्ने आश्वासन पाएपछि रिजाल उम्मेदवारी फिर्ता लिन तयार भएका हुन् ।

रिजालले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेसको उपसभापति पदको निर्वाचन समीकरणमा समेत परिवर्तन आउने भएको छ ।