काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिकाअनुसार विभिन्न पदमा दर्ता भएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको हो ।

नामावलीअनुसार सभापति पदमा तीनजनाको उम्मेदवारी परेको छ । सभापतिका लागि गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन् ।

यस्तै, वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ । एक पदका लागि शर्माको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुने सम्भावना बनेको छ ।

निर्वाचन समितिले प्रथम नामावलीउपर दाबी–विरोध तथा आपत्ति भएमा बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म आवश्यक कागजातसहित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न सकिने जनाएको छ ।

दाबी–विरोध तथा आपत्तिमाथि आवश्यक प्रक्रिया पूरा गरेपछि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुँदैछ । उम्मेदवारी दर्ताको प्रक्रिया पूरा भएसँगै अब दाबी–विरोध र अन्तिम नामावली प्रकाशनपछि बिहीबार मतदान हुँदैछ ।