काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि दर्ता भएको उम्मेदवारी फिर्ता तथा संशोधनको प्रक्रिया आज हुँदैछ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार मंगलबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारले बुधबार बिहान ९ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन वा दर्ता विवरण सच्याउन सक्नेछन् । त्यसका लागि सम्बन्धित उम्मेदवारले निर्वाचन समितिमा निवेदन दिनुपर्नेछ ।
उम्मेदवारी फिर्ता तथा संशोधनको समय सकिएपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन समितिको कार्यतालिका छ ।
अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारले दिनभर महाधिवेशन प्रतिनिधिमाझ प्रचार–प्रसार गर्दै मत माग्न पाउनेछन् ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।
सभापति पदमा गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौर गरी तीन जनाको उम्मेदवारी परेको छ । थापा गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।
वरिष्ठ उपसभापति पदमा भने विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ । यस्तै, महिला उपसभापतिमा पुष्पा भुसालको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
उपसभापति खुलातर्फ ९ जना, समावेशी उपसभापतिमा ५ जना, महामन्त्री खुलातर्फ ८ जना र महिला महामन्त्रीतर्फ ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

.gif)


