काठमाडौं - एनआइसी एसिया बैंकले गएको वर्षमा आफ्नो नाफा बढाउन सफल भएको छ। कोरोना महारीका कारण अधिकांस बैंक तथा वित्तीय संस्थाको नाफामा संकुचन आइरहेका बेला बैंकले भने नाफा बढाउन सफल भएको हो।

बैंकले गएको वर्ष ३ अर्ब १२ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ। यो अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतले बढी हो। बैंकको वितरयोग्य नाफा भने १ अर्ब ४४ करोड रुपैयाँमात्र रहेको छ।

१२ प्रतिशतले ऋण आम्दानी बढाएर ७ अर्ब ६० करोड पुर्‍याएको बैंकले कमिशन तथा शुल्कमा पनि १७ प्रतिशतको बृद्धि हात पारेको छ। बैंकले जोखिम व्यवस्थापनका लागि गर्नुपर्ने खर्च धेरै भएकाले नाफा प्रभावित भएको बताएको छ। बैंकले यो शिर्षकमा अघिल्लो वर्षको तुलनामा ८७ प्रतिशत बढी खर्च गरेको छ।

१७ प्रतिशतले बढाएर २ खर्ब १ अर्ब निक्षेप संकलन गरेको बैंकले १२ प्रतिशत बढाएर १ खर्ब ६० अर्ब ऋण विस्तार गरेको छ। बैंकको खराब कर्जा ०.७५ प्रतिशत पुगेको छ। बैंकको आधारदर ७.७ प्रतिशत कायम भएको छ भने सिसिडी रेसियो ७०.२९ छ।

१० प्रतिशत बढेर ९ अर्ब ७१ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा ५ अर्ब ८२ करोड रहेको छ। बैंकको प्रतिशेयर आम्दानी ३२.१२ रुपैयाँ रहेको छ।