काठमाडौं - सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्कालका लागि लागू नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले कक्षा ११ र १२ को विज्ञान संकायमा गणित विषय किन हटाएको भन्दै जवाफ दिन पाठ्यक्रम विकास केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको हो । साथै दुबै पक्षलाई कात्तिक २६ गते छलफलमा बोलाउँदै तत्काल उक्त पाठ्यक्रम लागू नगर्न पनि अल्पकालीन अन्तरिम आदेश दिइएको छ ।

अभिवक्ता भगवता अर्याल सहित गणित प्रेमीहरुले पाठ्यक्रम विकास केन्द्र, शिक्षा मन्त्रालय लगायतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले विपक्षीलाई नयाँ पाठ्यक्रम लागू गर्नुको कारणबारे १५ दिनभित्र विपक्षीमध्ये १, २, ३, र ४ ले महान्यायाधिवक्ताको कार्यालय मार्फत र अन्य विपक्षीहरुले आफू वा कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न  पनि आदेश दिएको छ ।