चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर एक महिलाको मृत्यु
सर्लाही - चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बरहथवा नगरपालिका–१७ निवासी रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमतीदेवी साहको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
चिसोबाट बच्न आफ्नै घरको आँगनमा बालेको आगो ताप्ने क्रममा बुधबार साँझ अचानक आगो लाग्दा उनी पुरै शरीर जलेर गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते साहको उपचारका क्रममा गएराति जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै चिसोबाट बच्न घर अगाडि बालेको आगो ताप्ने क्रममा साडीमा आगो लाग्दा विष्णु गाउँपालिका–१ बेल्वामा एक महिला गम्भीर घाइते भएकी छन् । गएराति ९ बजेको समयमा आगो लाग्दा राजन पासवानकी श्रीमती २५ वर्षीया सरस्वती पासवान गम्भीर घाइते भएकी हुन् । आगोबाट पासवानको घुँडादेखि पेटसम्म जलेको छ । उनको उपचार अहिले जिल्ला अस्पताल मलङ्गवामा भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।
आगलागीबाट २१ लाखको क्षति
ईश्वरपुर नगरपालिका–६ बैलवास बजारमा आगलागी हुँदा तीन जनाको घर पसल जलेर नष्ट भएको छ । आगलागीबाट करीब रु २१ लाखको क्षति भएको प्रहरीले जनाएको छ । गएराति करीब ९ः३० बजेको सममयमा बिजुलीको तारमा सर्ट भई आगलागी हुँदा स्थानीय हकिममियाँ मुकेरी, तसबीर अन्सारी र मजहर हुसेन मिकरानीको घर पसल जलेको छ ।
आगलागीबाट हकिममियाँ मुकेरीको दुईकोठे घर र पसल जलेर रु पाँच लाख बराबरको क्षति भएको छ । तसबीर अन्सारीको नुर आर्ट ग्लेरी पसलमा आगलागी हुँदा रु सात लाख बराबरको क्षति भएको छ । त्यस्तै मजहर हुसेन मिकरानीको सहयोगी सर्जिकल मेडिकल पसलमा आगलागी हुँदा रु आठ लाख बराबरको औषधि र एक लाख नगद गरी रु नौ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आगो स्थानीयवासी, वारुणयन्त्र र प्रहरीको सहयोगमा गएराति करीब ११ बजेको समयमा नियन्त्रणमा आएको थियो ।
फेसबुक पेज Like गर्नुहोस