काठमाडौं - नेपाल न्यून आय भएको मुलुकबाट पहिलोपटक निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्वबैंकले बिहीवार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको हो ।

तथ्यांकअनुसार नेपालीहरुको प्रतिव्यक्ति आय एक हजार ९० अमेरिकी डलर पुगेको छ । गत वर्ष नेपालीहरुको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर थियो ।

विश्वबैंकले उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न गरी संसारभरिका मुलुकलाई चार आय वर्गमा वर्गीकरण गर्दै आएको छ । १ हजार ३५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय भएका मुलुकहरू न्यून आयवर्गमा पर्छन् । त्यसभन्दा माथि ४ हजार ४५ अमेरिकी डलरसम्म आम्दानी हुनेलाई निम्नमध्यम आयवर्गमा राखिएको छ ।

यस्तै, ४ हजार ४६ देखि १२ हजार ३ सय ३५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय हुनेलाई उच्च मध्यम वर्ग र त्यसमाथिका आय हुनेलाई उच्च आय वर्गमा राखिएको छ ।

विश्वका २९ मुलुक न्यून आयवर्गमा रहेका छन् नेपालसहित ५० मुलुक निम्नमध्यम वर्ग, ५६ मुलुक उच्च मध्यम वर्ग र ८३ मुलुकहरू उच्च आय भएकामा पर्छन् । नेपाललाई सन् २०३० भित्र मध्यम आय भएको देशमा उकाल्ने सरकारको लक्ष्य छ ।