काठमाडौं-साउदी अरबको जाजानस्थित तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा एक विदेशी कामदारको मृत्यु भएको छ भने कयौं घाइते भएका छन्। मृतक र घाइतेको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। साउदी नेतृत्वको गठबन्धन र यमनका हुथी विद्रोहीबीच तनाव बढिरहेका बेला भएको आक्रमणले प्रशोधन केन्द्रको सञ्चालनसमेत प्रभावित पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ।
साउदी अरबको ऊर्जा मन्त्रालयले आक्रमणकारीको पहिचान खुलाएको छैन। तर, साउदी नेतृत्वको गठबन्धनले आक्रमणमा हुथी विद्रोहीको संलग्नता रहेको आरोप लगाउँदै नागरिक पूर्वाधारमाथि थप आक्रमण भए सैन्य जवाफ दिने चेतावनी दिएको छ।
ऊर्जा मन्त्रालयका अनुसार, बिहीबार केन्द्रमा हवाई प्रक्षेप्यास्त्र प्रहार हुँदा आगलागी भएको थियो। त्यसपछि केही सञ्चालन कार्य अस्थायी रूपमा बन्द गर्नुपरेको मन्त्रालयले जनाएको छ। गठबन्धनले त्यसपछि यमनको होदेइदा प्रान्तमा रहेको हुथी विद्रोहीको क्षेप्यास्त्र प्रक्षेपणस्थल ध्वस्त पारेको दाबी गरेको छ। यता, साउदी समर्थित यमनी सरकारी फौजले पनि हुथी अखडाहरूमा सयौँ आक्रमण गरेको र त्यसमा दर्जनौँ लडाकु मारिएको वा घाइते भएको जनाएको छ।
बढ्दो हिंसाले यमनको मानवीय संकट थप गहिरिने चिन्ता बढाएको छ। संयुक्त राष्ट्रसंघका अनुसार गत अगस्टयता तीन लाख ६० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। साउदी अरबको जाजानस्थित लाल सागर तटमा रहेको एक तेल प्रशोधन केन्द्र आक्रमणमा विभिन्न राष्ट्रका अन्य केही कामदारहरू घाइते भएका छन्।
घटनालगत्तै उद्धार टोली र प्राविधिक विशेषज्ञहरूले घटनास्थलमा पुगी घाइतेहरूलाई तुरुन्तै अस्पताल पु¥याएका थिए। उक्त आक्रमणबाट भएको क्षतिको मूल्यांकन र सुरक्षा जाँचको कार्य पनि अगाडि बढाइएको छ।

.gif)



