मोटरसाइकल चालकलाई झापड हान्ने ट्राफिक प्रहरी छानबिनमा
धनगढी - धनगढीमा मोटरसाइकल चालकलाई झापड हानेको घटनामा संलग्न ट्राफिक प्रहरीमाथि छानबिन गर्न सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रहरी निरीक्षक कटक कुँवरको संयोजकत्वमा छानबिन टोली गठन गरिएको हो ।
छानबिन टोलीलाई सात दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए । उनका अनुसार छानबिन निष्कर्षका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरी हवल्दार डेबिट श्रेष्ठले गुडिरहेको मोटरसाइकलसँगै दौडँदै चालकलाई रोकेर झापड हानेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना विवादमा आएको थियो ।
सो घटनाबारे प्रहरी प्रधान कार्यालयले समेत छानबिन गर्न प्रदेश प्रहरीलाई लिखित निर्देशन दिएको थियो । यसै घटनासँग जोडिएर भिडियो खिचेको भन्दै एसटीएस टेलिभिजनमा कार्यरत पत्रकार उषाकिरण ज्योति र लक्ष्मण ढुंगालमाथि समेत हवल्दार श्रेष्ठले दुर्व्यवहार गरेको आरोप छ ।
उक्त घटनापछि नेपाल पत्रकार महासंघ कैलाली, सुदूरपश्चिम प्रदेश समिति तथा केन्द्रीय समितिसहित विभिन्न पेशागत संगठनहरूले विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका थिए ।
अस्ति मात्र पत्रकार महासंघ कैलालीको कार्यालयमा हवल्दार श्रेष्ठ र महासंघका प्रतिनिधिबीच छलफल भएको थियो । सो अवसरमा हवल्दार श्रेष्ठले पत्रकार ज्योति र ढुंगालसँग माफी माग्दै आफ्नो गल्ती स्वीकार गरेका थिए ।
छलफलमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले घटनाबारे लिखित धारणा सार्वजनिक गर्ने सहमति भए पनि हालसम्म कुनै आधिकारिक वक्तव्य जारी गरिएको छैन ।
यसबीच जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवाले घटनाबारे सार्वजनिक रूपमा कुनै धारणा नदिएको भन्दै उनी घटना ढाकछोप गर्न केन्द्रित भएको आरोपसमेत लागिरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस