काठमाडौं -  जुम्लाको मार्सी चामल अब ‘नेपाल फुड’ ब्रान्ड बनेको छ ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नै मार्सीलाई ब्रान्डिङ गरेको हो । यसका लागि पहिलो चरणमा सुर्खेतबाट खरिद गरिएको २ सय ७० क्विन्टल मार्सी चामल काठमाडौं ल्याएर प्याकेजिङ भइरहेको कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीम थापाले बताए ।

दोस्रो चरणमा कम्पनीले जुम्लाबाटै थप ३ हजार क्विन्टल मार्सी धान खरिद प्रक्रिया सुरु गरेको छ । ‘सुर्खेतबाट ल्याएको मार्सी चामल प्याकेजिङ भइरहेको छ । बिहीबारदेखि नै उपभोक्ताले किन्न पाउँछन् । यसको मूल्य प्रतिकिलो २ सय २५ रुपैयाँ निर्धारण गरेका छौं,’ थापाले भने, ‘खाद्यले तोकेको मूल्य बजार भाउभन्दा धेरै सस्तो छ ।’

कम्पनीका अनुसार बजारमा एक किलो मार्सीको मूल्य २ सय ४० देखि २ सय ६० रुपैयाँसम्म पर्छ । सुर्खेतको बजारमै खुला प्रतिकिलो १ सय ८५ रुपैयाँमा खरिद गरेको खाद्यले ढुवानी, प्याकेजिङ खर्च, लोड–अनलोड, प्रशासनिक खर्चलगायत जोडेर खुद्रामा आफूले बेच्ने मूल्य निर्धारण गरेको जनाएको छ । 

कान्तिपुर दैनिकबाट