काठमाडौं,सर्लाही - सर्लाहीमा कांग्रेसका नेता/कार्यकर्ताको झडपमा परी दुई प्रहरी नायब उपरीक्षक (डिएसपी)सहित २२ प्रहरी घाइते भएका छन् ।

आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसर घेराउ गर्न पुगेका कांग्रेसका कार्यकर्ताहरुलाई रोक्ने क्रममा झड्प भएप उनीहरु घाइते भएका हुन् । घाइते हुनेमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी मदन कुँवर, इलाका प्रहरी कार्यालय बरहठवाका डिएसपी उद्धवसिंह भाटसहित २२ प्रहरी रहेका छन् ।

प्रदर्शनकारीतर्फ पनि २० भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ । प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगा हानेपछि झडप सुरु भएको थियो । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ३१ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । प्रदर्शनकारीहरु झाडू, प्लेकार्डसहित उत्रिएका छन् । 

गत असोज २२ गते सर्लाहीको रामनगर गाउँपालिका- ७ मा महेन्द्र रामको ढुंगा हानेर हत्या भएपछि विवाद चर्किएको हो । कांग्रेसले नेकपा कार्यकर्ताले कुटपिट गरि महेन्द्रको हत्या गरेको आरोप लगाउँदै आएको छ । प्रदर्शनकारीहरुले हत्यारालाई कारबाही, पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति, सहिद घोषणालगायत माग गरेका छन् ।