काठमाडौं - सरकारले नेपाल प्रहरीको २८ औं महानिरीक्षक (आईजीपी) पदमा अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्रीलाई बढुवा गरेको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको २८ औं महानिरीक्षकमा एआईजीको वरीयतामा पहिलो नम्बरमा रहेका थापालाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । उनीसँगै महानिरीक्षक बन्ने दौडमा अर्का एआईजी हरिबहादुर पाल थिए । सरकारले २ जनामध्ये कार्यक्षमता तथा वरिष्ठताका आधारमा थापालाई प्रहरी महानिरीक्षक बनाएको हो । प्रहरी प्रमुखमा बढुवा भएका थापाको कार्यकाल १९ वैशाख २०७९ सम्म हुनेछ । उनले बिहीवार कार्यभार सम्हाल्नेछन् ।

२७ औं महानिरीक्षकका रूपमा बढुवा भएका ठाकुर ज्ञवालीले बुधवारबाट ३० बर्से सेवा हदका कारण अनिवार्य अवकाश पाउँदै छन् । ज्ञवाली अवकाश हुने भएपछि सरकारले नयाँ प्रहरी प्रमुख नियुक्त गरेको हो । ज्ञवालीसँगै एआईजी तारिणी लम्साल र डीआईजी सूर्य उपाध्यायले पनि ३० बर्से सेवा अवधिका कारण अवकाश पाउँदै छन् ।

सरकारले यसअघि एआईजी पद रिक्त हुँदा डीआईजीबाटै सिधै प्रहरी महानिरीक्षक बनाउँदै आएको थियो । ज्ञवाली समेत डीआईजीबाटै प्रहरी प्रमुख बनेका थिए । तर यसपटक भने थापालाई ४ वर्षपछि एआईजीबाटै प्रहरी प्रमुख बन्ने अवसर जुरेको हो ।

यसअघि प्रकाश अर्याल, सर्वेन्द्र खनाल र वर्तमान आईजीपी ज्ञवालीले एआईजीको अनुभव नै प्राप्त नगरी सिधै डीआईजीबाटै प्रहरी प्रमुख बन्ने अवसर पाएका थिए । प्रहरी नियमावलीमा प्रहरी महानिरीक्षकमा एआईजीबाट वा एआईजी नभएको अवस्थामा डीआईजीबाट बढुवा गर्न सकिने उल्लेख छ ।

त्यसअघि २०७० मंसिरमा आईजीपी बनेका उपेन्द्रकान्त अर्यालले १४ दिन मात्रै एआईजीको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि प्रहरीको २५औं महानिरीक्षकमा प्रकाश अर्याल डीआईजीबाट सिधै आईजीपी बनेका थिए । आईजीपी हुनुअगाडि अर्यालले करिब ४ वर्ष ४ महिना डीआईजीको जिम्मेवारी सम्हालेका थिए ।

को हुन् थापा ?

प्रहरी संगठनमा शालीन र व्यावसायिक छवि भएका प्रहरी अधिकृतका रूपमा शैलेश थापा क्षेत्रीलाई लिइन्छ । १९ वैशाख २०४९ बाट प्रहरी निरीक्षक हुँदै प्रहरी सेवामा प्रवेश गरेका थापा भक्तपुर कटुन्जेका स्थायी बासिन्दा हुन् । उनी २३ मंसिर २०२५ मा जन्मिएका हुन् ।

थापाले संगठनमा व्यावसायिक कार्यक्षमतामा अब्बल, बौद्धिक र इमानदार छविका अधिकृतको परिचय बनाएका छन् । डीआईजी हुँदा थापाले महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको नेतृत्व सम्हालेका छन् । थापाको व्यावसायिक जीवनको अधिकांश समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बितेको छ ।

उनले इन्स्पेक्टर, डीएसपी, एसपी, एसएसपी र डिआईजी हुँदा प्रतिष्ठान र महानिरीक्षकको सचिवालयमा बसेर अनुभव बटुलेका छन् ।

इन्स्पेक्टर हुँदा उनले सल्यान, सिन्धुपाल्चोकमा काम गरेका छन् । डीएसपी हुँदा थापाले जिल्ला प्रहरी कार्यालय, धादिङको कमान्ड सम्हालेका थिए भने एसपी हुँदा कास्की र झापाको कमान्ड सम्हालेका थिए ।

एसएसपीमा बढुवा भएपछि थापा प्रहरी प्रधान कार्यालयको प्रवक्ता बनेका थिए । उनले डीआईजी बनेपछि समेत प्रहरी प्रधान कार्यालयको प्रवक्ताको जिम्मेवारी पाएका थिए । थापाले राजनीतिशास्त्रमा एमए गरेका छन् । थापाका बुवा पनि अवकाशप्राप्त डीआईजी हुन् ।

सधैं पहिलो

प्रहरी संगठनमा शैलेश थापा क्षेत्री र हरिबहादुर पाल एकै मितिमा भर्ती भएका हुन् । थापा पाललाई उछिँन्दै सधैं बढुवामा पहिलो हुँदै अघि बढे । जागिर सुरु गर्दा उनको पहिलो दरबन्दी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा भएको थियो ।

प्रहरी संगठनमा एआईजीसम्म आइपुग्दा नै पालभन्दा थापा अगाडि छन् । १८ वैशाख २०५८ मा डीएसपीमा बढुवा हुँदा थापा २ नम्बर र पाल १३ औं नम्बरमा झरे तर त्यसको ८ वर्षपछि एसपीमा बढुवा हुँदा थापा एक अंक पछि धकेलिँदा पाल ८ अंक अगाडि आए । २० पुस २०६६ को एसपी बढुवामा थापा तेस्रो नम्बर र पाल पाँचौं नम्बरमा बढुवा भए । १९ साउन २०७४ मा एसएसपीको बढुवा सूची सार्वजनिक हुँदा समेत थापा पहिलो नम्बरमा परे भने पाल चौथो नम्बरमा झरे । डीआईजी र एआईजीसम्म आइपुग्दा पाल थापा पछिको वरीयतामा परेका छन् ।

पाँच जना महानिरीक्षकसँग काम गरेका थापा नीति निर्माण, अनुसन्धान र चेनअफ कमान्डको कार्यान्वयनमा सफल मानिन्छन । थापा बोस्निया, पूर्वी टिमोर र सुडान मिसनमा समेत खटिएका थिए ।

सहमतिमै आईजीपी

सरकारले यसपटक विना विवाद सहमतिमै एआईजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक बनाएको हो । यसअघि प्रहरी महानिरीक्षक नियुक्तिका क्रममा प्रधानमन्त्री, गृहमन्त्री र सरकारमा सहभागी दलका नेताबीच नै पक्ष विपक्षमा खिचातानी चल्ने गरेकामा यसपटक विवादबिना नै प्रहरी संगठनले नेतृत्व पाएको हो ।

एआईजी थापा र पालबिच यसपटक प्रहरी महानिरीक्षकको दौडमा कुनै वैमनस्य उत्पन्न भएन । बरु उनीहरू दुवै संगठनको हितका लागि आफूहरूमध्ये जो महानिरीक्षक बने पनि मिलेरै अघि बढ्ने प्रतिबद्धतासहित अन्तिम अवस्थासम्म पनि सहकार्यमै रहिरहे । प्रहरी प्रमुखको चर्चा सुरु भएपछि उनीहरू दुवै एक कार्यक्रममा सहभागी हुन जाँदा एउटै गाडीमा गएका थिए ।

थापाले एआईजी बनेसँगै मानवस्रोत एवं प्रशासन विभागको नेतृत्व सम्हालेका थिए भने पालले कार्य एवं अपराध अनुसन्धान विभागको नेतृत्व सम्हालेका छन् ।

विगतमा यस्ता थिए विवाद

विगतका केही महानिरीक्षक नियुक्ति भने विवादमा परेका थिए । आईजीपीमा प्रतिस्पर्धाका लागि पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवाल र जयबहादुर चन्दको विवाद भने सतहमा नै आएको थियो ।

त्यस बखत तत्कालीन सरकारले पहिलो वरीयतामा रहेका सिलवाललाई नबनाएर तेस्रो नम्बरमा रहेका चन्दलाई आईजीपी नियुक्त गरेको थियो । त्यसपछि सिलवाल अदालतको ढोका ढकढक्याउन पुगेका थिए । अदालतले चन्दलाई आईजीपी बनाउने सरकारको निर्णय प्रक्रियामा त्रुटि देखाएपछि सरकारले दास्रो वरीयतामा रहेका प्रकाश अर्याललाई महानिरीक्षक बनाएको थियो ।

२६ औं महानिरीक्षक बन्नका लागि तत्कालीन डीआईजीद्वय सर्वेन्द्र खनाल र रमेश खरेलबीच समेत शक्ति केन्द्र धाउने होडबाजी नै चलेको थियो । त्यस बखत डीआईजीमा खरेलभन्दा कनिष्ठ रहेका खनाललाई सरकारले आईजीपी बनाएपछि खरेलले डीआईजीबाटै राजीनामा दिएका थिए ।

त्यसअघि कुवेरसिंह राना प्रहरी प्रमुख हुँदा समेत उत्पन्न भएको थियो । त्यसबखत रानासँगै प्रतिस्पर्धामा रहेका एआईजीद्वय नवराज ढकाल र भीष्म प्रसाईंबीच प्रहरी संगठनको नेतृत्व हात पार्न कडा प्रतिस्पर्धा भएको थियो ।

ज्ञवालीको कार्यकाल न उपलब्धि न विवाद

१४९ दिन नेपाल प्रहरीको नेतृत्व सम्हालेका २७ औं प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको कार्यकाल कुनै पनि उपलब्धि र विवादविना नै बितेको छ । विना प्रतिस्पर्धा सहज रूपमा प्रहरी संगठनको नेतृत्व हात पारेका ज्ञवालीले आफ्नो ५ महिने कार्यकालमा सरल शैलीमा नै संगठन चलाए ।

उनी गत २८ माघमा प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए । प्रहरी संगठनमा इमानदार अधिकृतको छवि बनाएका ज्ञवाली कार्यकालमा कतै आलोचित नहुने गरी नै अघि बढे ।

आईजीपीको पदभार सम्हालेलगत्तै ज्ञवालीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउने दाबी गरेका थिए । यो समयमा उनले त्यतातर्फ ध्यान नै लगाउन भ्याएनन् । ज्ञवाली केन्द्रीय अनुसन्धान ब्युरोमा एसएसपी रहँदा नै सो घटनाको छानबिनमा संलग्न रहेकाले उनको कार्यकालमा निर्मला हत्याको रहस्य खुल्ने धेरैको अपेक्षा थियो ।

उनी आईजी बनेको करीब डेढ महिनापछि विश्वभर कोरोना महामारी फैलियो । यसबीचमा सबै क्षेत्र अस्तव्यस्त रहेका कारण उनले समेत कोरोनाकै कारण छाटो समयम चाहे जति काम गर्न नपाएको भन्ने अवसर प्राप्त गरेका छन् । उनको कार्यकालमा प्रहरीलाई प्रदेशिक संरचनामा लैजान सक्ने अपेक्षासमेत थियो । तर सरकारी पक्षबाटै सोबारे कार्यविधि नै नबनेका कारण त्यता पनि उनले जोगिने अवसर प्राप्त गरे ।

आईजी ज्ञवालीले ३० वर्षे सेवा हदका कारण बुधवार अवकाश पाउँदै छन् । उनको बिदाइका लागि प्रहरी प्रधान कार्यालयले साँझ ५ बजे कार्यक्रम तय गरिसकेको छ । 

राजधानी दैनिकबाट